बिरगञ्ज । बिपिएस पल्स–२ कलेज, रानीघाटले कक्षा–११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजित स्वागत समारोह–२०८२ शुक्रबार होटल भिस्वामा उत्साहपूर्ण तथा भव्य वातावरणमा सम्पन्न गरेको छ।
समारोहमा विद्यार्थीहरूले गीत, संगीत, नृत्य तथा समाजमा घटिरहेका घटनामा आधारित सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए, जसले उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूबाट उच्च प्रशंसा प्राप्त गरेको थियो । कक्षा–१२ का विद्यार्थीहरूले नयाँ सहपाठीहरूलाई औपचारिक स्वागत गर्दै सम्पूर्ण कार्यक्रमको संयोजन गरेका थिए ।अतिथिहरूलाई खादा, माला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालले नयाँ विद्यार्थीहरूलाई शुभकामना दिँदै शिक्षाको महत्त्वबारे जोड दिँदै भने, “शिक्षा व्यक्तित्व विकास र उज्ज्वल भविष्य निर्माणको आधार हो। कलेज जीवनमा प्राप्त हुने अनुशासन, ज्ञान र सकारात्मक सोचले नै सफलताको मार्ग तय गर्छ। युवापुस्ताले लगनशीलता र जिम्मेवारीसहित अघि बढे समाज तथा राष्ट्रको विकासमा महत्वपूर्ण योगदान दिन सक्छ।”
उहाँले कलेज प्रशासनलाई यस्ता शैक्षिक र प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न आग्रह गर्दै विद्यार्थीहरूलाई सिर्जनशील, उत्तरदायी र सक्षम नागरिकका रूपमा विकास गर्न आवश्यक वातावरण निर्माण गर्ने सुझाव दिनुभयो।
त्यसैगरी कलेजका निर्देशक सन्दीप कुशवाहाले स्वागत समारोहले नयाँ र पुराना विद्यार्थीबीच मित्रता, समन्वय र सकारात्मक वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
उहाँले भने, “कक्षा–११ का विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ। कक्षा–१२ का विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम र मार्गदर्शनले नयाँ विद्यार्थीहरूलाई कलेज जीवनसँग सहज रूपमा परिचित गराउन मद्दत पुर्याउनेछ।”
कलेजका निर्देशक दीपक पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसिस बिरगञ्जका अध्यक्ष सरोज चौरसियासहित विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा समाजसेवी , पत्रकार , विद्यार्थी, शिक्षक, अभिभावक तथा कलेज प्रशासनको उत्साहजनक सहभागिता रहेको कलेजले जनाएको छ।