क्यानडाले सिरियालाई आतङ्कवादलाई समर्थन गर्ने राज्यहरूको सूचीबाट हटाएको छ । सिरियामा लामो समयदेखि शासन गरेका बसर अल–असद सत्ताच्युत भएको एक वर्ष पुगेको अवसरमा क्यानडाले सिरियालाई राज्य आतङ्कवादको सूचीबाट हटाउने घोषणा गरेको समाचार संस्था अलजजीराले जनाएको छ ।
क्यानडाको विदेश मन्त्रालयले अल–असदलाई हटाउन मद्दत गर्ने गठबन्धनको नेतृत्व गर्ने समूह हयात तहरीर अल–शाम (एचटीएस) लाई दिइएको ‘आतङ्कवादी’ को दर्जा पनि खारेज गर्ने बताएको खबरमा उल्लेख छ ।
सन् २०१२ मा क्यानडाले सिरियालाई आतङ्कवादको राज्य समर्थकका रूपमा सूचीबद्ध गरेको थियो । त्यसबेला अल–असदले लोकतन्त्र समर्थक विरोध प्रदर्शनहरूलाई दबाएर देशलाई गृहयुद्धमा धकेलेका थिए ।
अल–असद सत्ताच्युत भएपछि सिरियाका वर्तमान राष्ट्रपति अल–शाराले आफ्नो छविलाई अझ नयाँ बनाउनुभएको छ । उहाँले यस वर्षको शुरूमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै सिरियाले विश्वका राष्ट्रहरूमाझ आफ्नो उचित स्थान पुनः प्राप्त गरिरहेको बताउनुभएको थियो ।
सत्ता सम्हालेदेखि सिरियाका नयाँ नेताहरूले आफ्नो हिंसात्मक विगतबाट अलग भएर सिरियाली र विदेशी शक्तिहरू समक्ष अझ उदारवादी छवि प्रस्तुत गर्न खोजेका छन् ।