सप्तरी । सप्तरीमै आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग गर्दै जेन-जी पुस्ताका युवासहितका सम्बद्ध पक्षले मंगलबार राजविराजका सम्पूर्ण सरकारी कार्यालय बन्द गराएका छन् ।
पछिल्लो पटक राजविराजमा रहेको करदाता सेवा कार्यालय खारेज गर्ने संघ सरकारको निर्णयविरूद्ध सप्तरीका जेन-जी पुस्ता, उद्योग वाणिज्य संघ, करदाता तथा राजनीतिकर्मीसमेत सहभागी भएर समिति गठन गरेर संघर्ष बढाउने निर्णय भएको हो । सोही समितिको अगुवाइमा जेन-जी युवाहरूले सदरमुकाम राजविराजमा रहेका सबै सरकारी कार्यालयहरू बन्द गराएका हुन् ।
सरकारी कार्यालयहरू बन्द भएपछि सेवाग्राहीको कामकाज प्रभावित भएको छ । संघर्ष समितिले गत आइतबार र सोमबार पनि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो ।