बीरगंज । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ । अब यसअघि संकलन गरिँदै आएको बाहेक हरेक स्थानीय तहको केन्द्रबाट नामावली संकलन गर्न लागिएको हो। ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलन मंसिर १७ गतेदेखि यी कार्यालय रहेका स्थानीय तहबाहेक ६३७ वटा स्थानीय तहको केन्द्रबाट समेत हुने आयोगले जनाएको छ ।
उक्त मतदाता नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ । मतदाता नामावली संकलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन गरिनेछ । निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा गएर मतदाता नामावली अभियानमा सहभागी हुन सबैमा निर्वाचन आयोगले आग्रह गरेको छ । नामावली संकलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुनेछ ।
जुनसुकै निर्वाचन कार्यालयबाट अर्को जिल्लाका नागरिकको समेत मतदाता नामावली संकलन गर्ने व्यवस्था आयोगले मिलाएको छ । आफ्नो स्थायी ठेगाना रहेको जिल्लास्थित निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मात्र नाम दर्ता गर्न मिल्ने व्यवस्था थियो । तर, उक्त व्यवस्थालाई परिवर्तन गरेर आयोगले सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाएको हो ।
यसरी अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा समावेश हुने गरी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाइने र निजको मतदाता परिचयपत्र समेत स्थायी ठेगाना भएको जिल्लाबाटै प्राप्त गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।