वीरगञ्ज । परिवर्तन र नयाँ राजनीतिक संस्कृतिको दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुनः ‘पुरानै शैली’ अपनाएको आरोप उठ्न थालेको छ। पार्टीले पर्सा क्षेत्र नं. १ मा जेन–जीका काका हरी पन्तलाई उम्मेदवार बनाउने तयारी गरेको विषय सार्वजनिक भएपछि पार्टीकै समर्थकहरू समेत असन्तुष्ट देखिएका छन्।
‘परिवर्तनका लागि होमिएको’ भनिने रास्वपाले पारिवारिक निकटता र आत्मीयतामा आधारित व्यक्तिलाई अघि सारेको आलोचना भइरहेको छ। क्षेत्रीय कार्यकर्ताहरूले योग्य, सक्रिय तथा स्थानीय व्यक्तिहरूलाई पन्छाएर अचानक बाहिरको व्यक्तिलाई उम्मेदवार बनाउने तयारी गर्नु पार्टीको मूल उद्देश्यविपरीत रहेको टिप्पणी गरेका छन्।
यसले रास्वपाको नेतृत्व तथा निर्णय–प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ। पार्टीले परिवर्तन होइन, ‘पारिवारिक पहुँच’लाई प्राथमिकता दिएको आरोप बढिरहेको छ।