काठमाडौँ । तराई-मधेसमा पछिल्लो समय बुहारी हत्या र आत्महत्याको शृंखला बढ्दो छ । कतिपय घटनामा त प्रहरीले उजुरी लिन्छ तर छानबिन समेत अगाडि बढ्दैन । कसैगरी छानबिन अघि बढ्यो भने पनि निष्कर्षमा नपुगी त्यत्तिकै सेलाउने गरेका छन् । जनकपुरकी आरती साहको हत्या प्रकरण होस् वा सिरहाकी कञ्चन मण्डलको घटना । विवाहपछि दाइजो र घरेलु हिंसाले बुहारी हत्या र आत्महत्याका घटना बढाइरहेका छन् ।
मंसिर महिनामा धनुषाकी रोशनी झा र असोजमा अंशु साहको आत्महत्याको दुई घटना सार्वजनिक भए । दुवै घटनामा परिवारले आत्महत्या नभई हत्या भएको दाबी गरेका छन् । रोशनीको हत्या भएको भन्दै उनको परिवारले प्रहरीमा उजुरी दिएको छ । यो घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । छानबिनको क्रममा केही आरोपी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेशबहादुर बमका अनुसार धनुषा देवान पोखरीका सच्चिन झा र उनका १५ वर्षीय छोरालाई पक्राउ गरिएको छ । यसअघि नै मृतक रोशनीका श्रीमान् प्रशान्त मिश्र पक्राउ परिसकेका छन् ।
त्यस्तै प्रकृतिको घटनामा धनुषाकै अंशु साहको मृत्यु भएको दुई महिनाभन्दा बढी भइसक्यो, तर हालसम्म प्रहरीले उजुरी लिन मानेको छैन ।
अंशुकी बहिनी आकृति साह भन्छिन्, ‘हामी दिनदिनै प्रहरीमा धाइरहेका छौं, तर प्रहरीले उजुरी लिन मानेको छैन । रोशनी झाको घटना र मेरो दिदी अंशुको घटना उस्तै हो, तर प्रहरीले उजुरी समेत लिन मानेको छैन । उजुरी लिएर छिरेश्वरनाथ प्रहरी चौकीमा जाँदा जिल्ला प्रहरीको एसपीको तोक लागेपछि मात्र दर्ता गर्ने भन्छन् ।‘ तर एसपीले विभिन्न बहाना बनाउँदै भेट्न नमानेको आकृतिको गुनासो छ ।
तर एसपी रुगमबहादुर कुँवर अंशुको घटनामा कोही पनि उजुरी लिएर नआएको दाबी गर्छन् । ‘म कात्तिकदेखि यहाँ हाजिर भएको छु । त्यसयता त्यस्तो उजुरी लिएर कोही पनि आएको छैन,’ उनी भन्छन्, ‘उजुरी आए प्रहरीले छानबिन गर्छ ।‘
असोज १३ गते ३-४ बजेसम्म अंशुँग आफूहरुको सम्पर्कमा रहेको आकृतिले बताइन् । तर अचानक ५–६ बजे त्यस्तो घटना भएको सुन्दा पत्यार नलागेको उनी सुनाउँछिन् ।
अंशुकी आमा बिना भन्छिन्, ‘हामीसँग कुरा गर्दा उनी निकै खुसी थिइन्, हाँसी हाँसी कुरा गरेकी थिइन् । कुनै समस्या वा झैझगडा भएको केही पनि भनेकी थिइनन् । तर अचानक उनले आत्महत्या गरेको खबर आयो ।‘ उनी अंशुको आत्महत्या होइन, हत्या भएको आरोप लगाउँछिन् ।
अंशु र उनका श्रीमान् शिवकुमार स्वास्थ्यकर्मी हुन् । शिवकुमार एउटा प्राइभेट औषधि उद्योगमा काम गर्छन् । अंशुले स्टाफ नर्स थिइन् । गर्भवती भएपछि उनी जागिर छाडेर घरमै बसेकी थिइन् । आफ्नो पढाइ र करिअरप्रति निकै गम्भीर रहेकी अंशुले आत्महत्या गर्ने कुरा कल्पना समेत नगरेको आमा बिनाकुमारी बताउँछिन् ।
‘यदि अंशुले आत्महत्या गरेकी थिइन् भने उनको श्रीमान्, सासूससुराले प्रहरी वा छरछिमेकलाई खबर गर्नुपर्थ्यो । सुटुक्क एम्बुलेन्स बोलाएर अस्पताल लगेर घटनालाई ढाकछोप गर्दैनथे,’ अंशुकी बहिनी आकृति भन्छिन्, ‘एम्बुलेन्स आएपछि छिमेकीहरुले सोध्दा बान्ता भएर अस्पताल लगेको भनेर ढाँटेका रहेछन् । अस्पतालमा डाक्टरले यो बोमिटिङ होइन, झुण्डिएर मरेको वा मारिएको हो भनेपछि मात्र उनीहरुले झुण्डिएको गरेका थिए ।’
दुई वर्षअघि अंशुको शिवकुमार महतोसँग विवाह भएको थियो । घटना हुँदा अंशुको पेटमा सात महिनाको बच्चा हुर्किरहेको थियो । पेटमा सात महिनाको बच्चा हुने कुनै पनि आमाले आत्महत्या गर्न नसक्ने आकृतिको जिकिर छ ।
अंशु र उनका श्रीमान् शिवकुमार स्वास्थ्यकर्मी हुन् । शिवकुमार एउटा प्राइभेट औषधि उद्योगमा काम गर्छन् । अंशुले स्टाफ नर्स थिइन् । गर्भवती भएपछि उनी जागिर छाडेर घरमै बसेकी थिइन् । आफ्नो पढाइ र करिअरप्रति निकै गम्भीर रहेकी अंशुले आत्महत्या गर्ने कुरा कल्पना समेत नगरेको आमा बिनाकुमारी बताउँछिन् ।
राजनीतिक पहुँचका कारण प्रहरीले उजुरी नलिएको अंशुको परिवारको दाबी छ । किटानी जाहेरी लिएर प्रहरीमा जाँदा पनि दुई महिनादेखि झुलाइरहेको गुनासो छ । अंशुकी बहिनी आकृतिले आफूहरुले न्यायका लागि काठमाडौँमा पनि गुहार मागेको तर कसैले सुनुवाइ नगरेको बताइन् ।