वीरगञ्ज । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मधेसी खुल्ला कोटाबाट केन्द्रीय सदस्य पदका लागि राजकुमार गुप्ताले केपी शर्मा ओली प्यानलबाट उम्मेदवारी दर्ता गराउँदै पार्टीभित्र उत्साह र सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ । लामो समयदेखि पार्टी संगठन निर्माण, जनसम्पर्क र विचारधारात्मक मजबुतिकरणमा सक्रिय गुप्ताको उम्मेदवारीलाई पार्टी पंक्तिले आशाका साथ हेरेको छ।
शान्त स्वभाव, दृढ निर्णय क्षमता र स्वाभिमानी नेतृत्वशैलीका कारण चिनिनु भएका गुप्ताले पार्टीलाई जनतासँग अझ नजिक पुर्याउने, मधेसी समुदायका मुद्दालाई पार्टीको मूलधारमा प्रभावकारी रूपमा उठाउने तथा संगठनलाई समावेशी र बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले विचार, संगठन र अनुशासनलाई एकसाथ अघि बढाउँदै एमालेको नीतिलाई जनजीवनसँग जोड्ने लक्ष्य लिएको बताउनुभयो।
उम्मेदवार गुप्ताले महाधिवेशन प्रतिनिधि तथा सम्पूर्ण पार्टी कार्यकर्तालाई एकताबद्ध भई आफ्नो अमूल्य मत प्रदान गर्न आग्रह गर्दै, अत्यधिक मतसहित विजयी बनाएमा पार्टी र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्ने महत्त्वपूर्ण मोडका रूपमा लिइएको सन्दर्भमा, मधेसी खुल्ला कोटाबाट राजकुमार गुप्ताको उम्मेदवारीलाई संगठन सुदृढीकरण र समावेशी नेतृत्वतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ।