काठमाडौं । नेकपा (एमाले)को एघारौं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम घडीमा पार्टीका वैचारिक, कुशल सङ्गठक महासचिवका उम्मेदवार शंकर पोखरेलले उत्साह र अर्थपूर्ण सन्देश सार्वजनिक गरेका छन् ।
पार्टी निर्माण, आन्दोलनको निरन्तरता र मूल नेतृत्वको रक्षा गर्ने सवालमा सदैव चट्टानी अडानका साथ उभिँदै आएका शंकर पोखरेलको सन्देशलाई महाधिवेशन प्रतिनिधिहरूले विशेष चासोका साथ लिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् व्यक्त गरिएको स्टाटसमा पोखरेलले पार्टीभित्रको एकता, दृढता र साझा जिम्मेवारीलाई जोड दिएको छन् । उनले भनेका छन्, “हामी जुट्यौँ, हामी जित्छौँ । पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार हो ।”
सन्देशमार्फत् पोखरेलले एमालेको सामूहिक शक्ति र ऐक्यबद्धतामाथि विश्वास व्यक्त गरेका छन् । पोखरेलले एमालेका सबै नेता कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढेमा चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टी, आन्दोलन र राष्ट्रको हित सुरक्षित गर्न सकिने स्पष्ट संकेत गरेका छन् ।
“हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ” भन्ने उनको दोहोरिएको आह्वानले महाधिवेशनको माहोललाई थप उत्साहपूर्ण र एकतामुखी बनाएको छ ।
निर्वाचनको निर्णायक क्षणमा आएको यस सन्देशलाई एमालेभित्र संगठनात्मक अनुशासन, वैचारिक स्पष्टता र मूल नेतृत्वप्रतिको भरोसाको प्रतीकका रूपमा हेरिएको छ ।
यसअघि पार्टीका वरिष्ठ नेता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर शानदार मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका थिए ।
महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ज्ञवालीले यो महाधिवेशन केवल संगठनात्मक प्रक्रियामा सीमित नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका लागि समेत दूरगामी अर्थ राख्ने ऐतिहासिक क्षण भएको उल्लेख गरे ।
उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढाउन ओली नेतृत्वको निरन्तरता अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
यसै अवसरमा नेता ज्ञवालीले आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवार रहेको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे ।
“म सधैं कमरेडहरूकै बीचमा छु र भविष्यमा पनि त्यहीँ रहनेछु,” भन्दै उनले कार्यकर्ता र प्रतिनिधिसँगको भावनात्मक सम्बन्ध र राजनीतिक प्रतिबद्धता पुनः दोहोर्याए ।
एमालेको भावी नेतृत्व र आगामी राजनीतिक दिशालाई निर्धारण गर्ने यस निर्णायक मतदानले पार्टीलाई थप एकताबद्ध, सशक्त र जनउत्तरदायी बनाउने विश्वास नेताहरूले व्यक्त गरेका छन् ।