काठमाडौं । नेपालमा ७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रिक्त भएको डेढ महिना बित्दा समेत बढुवा हुन सकेको छैन ।
गत ९ कात्तिकका पाँच एसएसपीहरु भुपेन्द्र खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओम अधिकारी, चौथोमा शेखर खनाल र पाँचौंमा अभिनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस भएका थिए । सिफारिस भएको एक सातापछि उनीहरूले डीआईजीको दर्ज्यानी चिह्न प्राप्त गरे ।
त्यसपछि १ मंसिरमा अर्का एसएसपी विश्व अधिकारी पनि डीआईजी बढुवामा सिफारिस भए । योसँगै रिक्त एसएसपीको संख्या ६ पुग्यो । यही बीचमा एसएसपी प्रकाश रानाभाटले राजीनामा दिए । उनको राजीनामा पनि स्वीकृत भयो ।
यो सँगै नेपाल प्रहरीमा रिक्त एसएसपीको संख्या ७ पुग्यो । रिक्त भएको डेढ महिना बित्दा पनि अहिलेसम्म एसएसपीमा बढुवा हुन सकेको छैन । अहिलेसम्म बढुवा हुन नसक्नुको कारण भने प्राविधिकतर्फका दुई एसएसपीको दरबन्दी जनपदतर्फ मिलान गरेर बढुवा गर्ने तयारी रहेको बुझिएको छ । यसका लागि गर्नेपर्ने संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गर्नका लागि मन्त्री परिषद्ले समेत स्वीकृत दिएको छ । अहिले यसैमा काम भइरहेकाले केही ढिलाइ भएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।
यो सँगै दरबन्दी मिलान गरेर मन्त्रिपरिषद्मा पठाउने बाटो समेत प्रहरी हेडक्वाटरले पाएको छ । दरबन्दी मिलान भएपछि बढुवा गर्नेगरी तयारी अघि बढाइएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत तथा प्रशासन विभागले जनाएको छ । यसअघि सशस्त्र प्रहरीले समेत दबरन्दी मिलान गर्दै तीन डीआईजी, एक एसएसपीको दरबन्दी थप गरेको थियो ।
रिक्त एसएसपी बढुवाका लागि करिब दुई दर्जन एसएसपीहरू प्रतिस्पर्धामा छन् । बढुवाका लागि भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेन्द्रप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदमबहादुर बिष्ट छन् ।
त्यस्तै वासुदेव खतिवडा, प्रजित केसी, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही, राजकुमार सिलवाल, सुवास चन्द्र बोहरा, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाल तिमिल्सिना र रमेश पण्डित छन् ।