पेन्सिलभेनिया । चिकित्सा अनुसन्धानका लागि दान गरिएका शवहरूबाट मानव अङ्ग चोरी गरी बिक्री गरेको अभियोगमा हार्भर्ड मेडिकल स्कुलको शवगृहका पूर्व प्रबन्धक सेड्रिक लजलाई आठ वर्षको जेल सजाय सुनाइएको छ।
सन् २०२३ मा पक्राउ पर्नुअघि दुई दशकभन्दा बढी समय शवगृहको व्यवस्थापन सम्हालेका ५८ वर्षीय लजलाई पेन्सिलभेनियाका एक जिल्ला न्यायाधीशले मंगलबार यो सजाय सुनाएका हुन्।
सरकारी वकिलहरूले अदालतमा पेस गरेको प्रतिवेदनअनुसार लजले शवगृहमा रहेका शवहरूबाट टाउको, मस्तिष्क, छाला र हातहरू निकालेर न्यु ह्याम्पशायरस्थित आफ्नो घरमा लैजाने र त्यहाँबाट विभिन्न व्यक्तिहरूलाई बिक्री गर्ने गरेका थिए। उनले राज्यका सीमाहरू पार गरी चोरीका सामान ओसारपसार गरेको अभियोगमा गत मे महिनामा आफ्नो गल्ती स्वीकार गरेका थिए।
अभियोजकहरूले यस कार्यलाई अन्तस्करणलाई स्तब्ध बनाउने र बीभत्स वस्तुहरूको सौखिन समुदायको मनोरञ्जनका लागि गरिएको घृणित कार्य भनेका छन् । यस प्रकरणमा लजकी पत्नी डेनिसलाई पनि चोरीका अङ्गहरूको बिक्रीमा सहयोग पुर्याएको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको छ। उनले पेन्सिलभेनियाका दुई व्यक्तिलाई अङ्गहरू बेच्न मद्दत गरेकी थिइन्, जसले पछि ती अङ्गहरू पुनः अरूलाई बेचेका थिए।
सरकारी वकिलहरूले लजका कारण अनगिन्ती परिवारहरूमा गहिरो भावनात्मक चोट पुगेको र आफ्ना प्रियजनका शवहरूको दुर्व्यवहार भएको सुन्दा उनीहरू मर्माहत भएको उल्लेख गरेका छन्।
हार्भर्ड मेडिकल स्कुलले लजको कार्यलाई ‘घृणित र संस्थाको मूल्य–मान्यता विपरीत’ भन्दै भर्त्सना गरेको छ। यसैबिच, अक्टोबरमा एक अमेरिकी अदालतले चिकित्सा अनुसन्धानका लागि शव दान गर्ने परिवारहरूले हार्भर्ड मेडिकल स्कुल विरुद्ध मुद्दा हाल्न सक्ने फैसला गरेको थियो।
न्यायाधीशहरूले यसलाई धेरै वर्षसम्म चलेको एक भयानक र बीभत्स योजनाको रूपमा चित्रण गरेका छन्।