वीरगञ्ज, पुस ४ । नेपालमा पहिलो पटक ‘एसिलोर लक्सोटिका एक्सपेरियन्स जोन’को औपचारिक सुरुआत वीरगञ्जस्थित किरण आँखा अस्पतालबाट गरिएको छ। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शुक्रबार आयोजित विशेष कार्यक्रममा उक्त एक्सपेरियन्स जोनको उद्घाटन गर्नुभयो।
उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख सिंहले अन्तर्राष्ट्रिय स्तरका उच्च गुणस्तरका विभिन्न चस्मा र लेन्सहरू अब किरण आँखा अस्पतालमै उपलब्ध हुने बताउनुभयो। यस्ता आधुनिक तथा विश्वस्तरीय सेवाको अधिकतम लाभ लिन उहाँले सर्वसाधारणलाई आग्रहसमेत गर्नुभयो। स्वास्थ्य सेवामा प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्दै आएको किरण आँखा अस्पतालले सञ्चालनमा ल्याएको यस एक्सपेरियन्स जोनबाट वीरगञ्ज महानगर क्षेत्रका साथै सीमावर्ती भारतीय क्षेत्रका सेवाग्राहीहरूले समेत लाभ लिन सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
यस अवसरमा एसिलोर लक्सोटिकाका नेपालका लागि बजार प्रमुख कामना गिरीले आँखाको चस्मामा प्रयोग हुने लेन्समध्ये विश्वमै नम्बर एक मानिने यस ब्रान्डका लेन्सहरू आँखाका लागि सुरक्षित, प्रभावकारी र दीर्घकालीन रूपमा उपयोगी हुने जानकारी दिनुभयो। उहाँले अन्य लेन्सको तुलनामा केही महँगो भए पनि गुणस्तर र टिकाउपनका कारण लामो समयसम्म उपयोग गर्न सकिने बताउनुभयो।
उद्घाटन समारोहमा किरण आँखा अस्पतालका सञ्चालक डा. अमर क्याल, डा. बन्धना क्याल, व्यवस्थापन प्रमुख अभिषेक क्यालको उपस्थिति रहेको थियो। साथै अतिथिका रूपमा डा. आनन्दकुमार झा, डा. मनोज रुङ्गटा, डा. राकेश झा, डा. अभिषेक सिंह, डा. जगदीश अग्रवाल, डा. मञ्जुलता अग्रवाल, एम. इजहार, ग्रिन सिटीका अध्यक्ष जयप्रकाश खेतनालगायत अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।