अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमध्ये १६ वटा फाइल शनिबार अबेर राति वेबसाइटबाट गायब भएका छन् । रोयटर्सका अनुसार, यी फाइलहरूमा महिलाहरूका पेन्टिङका तस्वीरहरूसँगै अर्को यस्तो फोटो समावेश थियो, जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जेफ्री एपस्टिन, मेलानिया ट्रम्प र गिजलेन म्याक्सवेल (एपस्टिनकी प्रेमिका) सँगै देखिएका थिए ।
अमेरिकी न्याय विभागले यी फाइलहरू हटाएको बारे अहिलेसम्म कुनै स्पष्टीकरण दिएको छैन । फाइलहरू जानीजानी हटाइएका हुन् वा प्राविधिक त्रुटिका कारण गायब भएका हुन् भन्ने कुरा पनि स्पष्ट पारिएको छैन ।
विभागले जेफ्री एपस्टिनसँग सम्बन्धित अनुसन्धान अन्तर्गत शुक्रबार राति पौने तीन बजे तीन लाख कागजातहरू सार्वजनिक गरेको छ ।
ती कागजातहरूमा अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन, पप गायक माइकल ज्याक्सन जस्ता दिग्गजहरूको तस्वीर बाहिर आएका छन्, यद्यपि रेकर्डहरूमा डोनाल्ड ट्रम्पको नाम लगभग नगण्य पाइएको छ । फेब्रुअरीमा जारी एपस्टिनको निजी जेटको फ्लाइट लगमा ट्रम्पको नाम सार्वजनिक भइसकेको छ ।
नयाँ कागजातहरूमा विशेष गरी एपस्टिनको न्युयोर्क र युएस भर्जिन आइल्यान्ड्सस्थित घरका तस्वीरहरू थिए, साथै केही चर्चित हस्तीहरू र राजनीतिज्ञहरूको फोटो पनि थियो।
तर, सबैभन्दा महत्त्वपूर्ण कागजातहरू जस्तै धेरै पीडितहरूको एफबीआई अन्तर्वार्ता र न्याय विभागको निर्णयको प्रतिलिपि जारी गरिएको छैन । ती फाइलहरूमा एपस्टिनलाई यौन तस्करीको आरोपको सट्टा साना राज्य स्तरका अपराधमा मात्र सजाय दिने निर्णय गरिएको थियो ।
यी फाइलहरूको अभावले सन् २००० को दशकमा अभियोजकहरूले मुद्दालाई कसरी सम्हाले र एपस्टिनले किन कमजोर सजाय पाए भन्ने प्रश्न पुनः उठाएको छ । बेलायतका पूर्व प्रिन्स एन्ड्रयू जस्ता अन्य चर्चित व्यक्तिहरूको पनि यी कागजातहरूमा निकै कम उल्लेख थियो ।
हाउस ओभरसाइट कमिटीका डेमोक्र्याट सदस्यहरूले ट्रम्पसँग सम्बन्धित तस्वीर गायब भएकोमा प्रश्न उठाएका छन् । ‘अरू के लुकाइँदै छ?’ उनीहरूले प्रश्न गरेका छन् ।
उनीहरूले अमेरिकी जनताका लागि पूर्ण पारदर्शिताको माग गर्दै न्याय विभागमाथि तथ्य लुकाएको (कभर-अप) को आरोप लगाएका छन् ।
यौन पीडितहरूको गुनासो
एपस्टिनका पीडितहरू र कानुन निर्माताहरू लामो समयदेखि पूर्ण पारदर्शिताको माग गरिरहेका थिए, तर जारी कागजातहरूमा धेरै दस्तावेजहरू गोप्य राखिएको थियो । एउटा ११९ पृष्ठको कागजात त पूर्ण रूपमा नबुझिने बनाइएको थियो। न्याय विभागले लाखौँ पृष्ठका रेकर्डहरू रहेको र पीडितहरूको पहिचान लुकाउन समय लागिरहेकोले कागजातहरू बिस्तारै जारी गरिने बताएको छ ।
यस समय सीमाबाट पीडित र सांसदहरू निकै निराश छन्। एपस्टिनकी सुरुवाती पीडितमध्ये एक जेस माइकल्सले भनिन्, ‘न्याय विभागले फाइल जारी गर्नमा भ्रष्टाचार र ढिलाइ गरेर आफूले केही लुकाइरहेको प्रमाणित गरिरहेको छ ।’
अर्की पीडित मरिना लार्सेडाले भनिन्, ‘फोटोहरू धेरैजसो काम नलाग्ने छन् । हामीलाई धोका दिइएको छ । हामी सरकारले जसलाई बचाइरहेको छ, तिनीहरूको नाम सार्वजनिक हुने प्रतीक्षामा थियौँ ।’
एपस्टिनको जेटबाट यात्रा गर्थे ट्रम्प
ट्रम्पले सधैँ एपस्टिनका अपराधहरूमा आफ्नो कुनै पनि संलग्नता अस्वीकार गर्दै आएका छन् र उनीविरुद्ध यस मामलामा कुनै आरोप दर्ता छैन । मिडिया रिपोर्टहरूमा ट्रम्पले सात पटक एपस्टिनको निजी जेटबाट यात्रा गरेको दाबी गरिएको थियो ।
न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले यो यात्रा सन् १९९३ देखि १९९७ को बीचमा गरेका थिए। यद्यपि, यी उडानहरू धेरैजसो पाम बीच र न्युयोर्कका बीचमा थिए । ट्रम्पले आफूले कहिल्यै एपस्टिनको निजी टापुको भ्रमण नगरेको र कुनै गलत काम नगरेको बताएका थिए ।
एपस्टिनका मिल्ने साथी थिए ट्रम्प
ट्रम्प र एपस्टिनको भेट एउटा पार्टीमा भएको थियो। सन् २००२ मा ट्रम्पले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘म जेफलाई १५ वर्षदेखि चिन्छु, उनी कमालका मान्छे हुन्। हामी दुवैलाई कम उमेरका सुन्दरी केटीहरू मन पर्छन् ।’
यो बयान पछि ट्रम्पका लागि समस्या बन्यो। सन् १९९२ मा ट्रम्पले फ्लोरिडास्थित आफ्नो मार-ए-लागो रिसोर्टमा एपस्टिन र चियरलिडर्ससँग एउटा पार्टी गरेका थिए ।
सन् २०१९ मा एनबीसीले यसको एउटा फुटेज सार्वजनिक गरेको थियो, जसमा ट्रम्पले एपस्टिनलाई एक महिलातर्फ इशारा गर्दै ‘हेर उनी धेरै हट छिन्’ भनिरहेको देखिन्छ । यद्यपि, एउटा सम्पत्ति विवादपछि ट्रम्प र एपस्टिनबीच कुराकानी भएको कुनै सार्वजनिक रेकर्ड छैन ।
ट्रम्पले पछि सन् २०१९ मा आफू र एपस्टिनबीच मनमुटाव भएको र १५ वर्षदेखि एक-अर्कासँग कुरा नगरेको बताएका थिए ।
आयुर्वेदिक मसाजको चर्चा
जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमा भारतको प्राचीन चिकित्सा पद्धति आयुर्वेदको पनि उल्लेख छ । अमेरिकी न्याय विभागले जारी गरेका यी कागजातहरूमा मसाज प्रविधि र आयुर्वेदिक उपचारमार्फत शरीरलाई ‘डिटक्स’ गर्ने कुरा गरिएको छ ।
जारी कागजातहरूमा एउटा पत्र पनि समावेश छ, जसमा पश्चिमी देशहरूमा अहिले धेरै मानिसहरूले भारतको करिब ५,००० वर्ष पुरानो प्राकृतिक चिकित्सा प्रणालीमा आधारित मसाज र उपचार प्रविधिहरू अपनाइरहेको लेखिएको छ ।
बिल क्लिन्टन बोले– मलाई बलिको बोको बनाइँदै छ
एपस्टिन फाइल्समा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनका तस्वीरहरू सार्वजनिक भएपछि अमेरिकाको राजनीतिमा हलचल मच्चिएको छ । क्लिन्टनका प्रवक्ताले ह्वाइट हाउसले जानीजानी उनलाई ‘बलिको बोको’ बनाइरहेको र वास्तविक मुद्दाहरूबाट ध्यान हटाउन खोजिरहेको आरोप लगाएका छन् ।
एक तस्वीरमा क्लिन्टन पौडी पोखरीमा म्याक्सवेल र एक युवतीसँग देखिएका छन्, यद्यपि ती युवतीको अनुहार ढाकिएको छ ।
मिडिया रिपोर्टका अनुसार क्लिन्टन राष्ट्रपति हुँदा एपस्टिन कम्तीमा १७ पटक ह्वाइट हाउस गएका थिए। क्लिन्टनले भने आफूले सन् २००५ तिरै एपस्टिनसँगको सम्बन्ध तोडिसकेको र यस मामलामा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन्।
न्याय विभागले आउने समयमा एपस्टिन केससँग सम्बन्धित थप तस्वीर र कागजातहरू सार्वजनिक गर्ने बताएको छ। हालै अमेरिकी संसद्ले एउटा नयाँ कानुन पारित गरेपछि अदालतले यी गोप्य कागजातहरू सार्वजनिक गर्ने अनुमति दिएको हो।