वीरगंज । वीरगंज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमकाबीच महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नवनिर्मित बर्थिङ सेन्टरको समुद्घाटन गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो ।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ग्रामीण भेगका वडाहरूमा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै गाउँमै सुरक्षित प्रसूती सेवा उपलब्ध गराउने उद्देश्यका साथ यस्तो व्यवस्था मिलाएको हो । ग्रामीण भेगका बिरामी तथा सेवाग्राहीको सहजतालाई ध्यानमा राखी महानगरपालिकाले स्वास्थ्य चौकीहरूको भौतिक संरचना स्तरोन्नति, सेवा विस्तार तथा आवश्यक जनशक्ति थप गर्दै आइरहेको छ ।
यसैअनुसार वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा आजदेखि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो । यसअघि गएको शुक्रबार मात्रै वडा नम्बर १८ भवानीपुरस्थित स्वास्थ्य संस्थामा पनि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो ।
बर्थिङ सेन्टरको समुद्घाटनसँगै अब लालपर्सास्थित स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसूती सेवा उपलब्ध हुने भएको महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकीकै भवनमा आइतबारदेखि निरन्तर सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।
बर्थिङ सेन्टर सञ्चालनका लागि तालिमप्राप्त दुई जना अतिरिक्त अनमीसहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त स्वास्थ्य चौकीमा पछिल्लो दुई महिनादेखि जनस्वास्थ्य प्रयोगशाला पनि सञ्चालनमा रहेको छ, जहाँ हाल ३७ प्रकारका विभिन्न स्वास्थ्य परीक्षण सेवा प्रदान हुँदै आएका छन् ।
यसअघि नै वीरगंज महानगरपालिकाको वडा नम्बर २८ बगही तथा वडा नम्बर २१ लिपनीस्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् ।
आइतबार आयोजित लालपर्सा बर्थिङ सेन्टर समुद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा नम्बर ३० का वडाध्यक्ष मनोजकुमार यादव, स्वास्थ्य चौकीका इन्चार्ज मेवालाल ठाकुर लगायतको उपस्थिति रहेको थियो ।