वीरगञ्ज । भारतीय राज्य उत्तर प्रदेशको औरैया जिल्लाको सहार थाना क्षेत्रअन्तर्गत गोपालपुर गाउँमा एक विवाहित युवक आफ्नी सालीसँग दोस्रो विवाह (निकाह) गर्नुपर्ने अडानमा मोबाइल टावरमा चढेपछि घण्टौँसम्म तनाव सृजना भएको छ ।
स्थानीय ३० वर्षीय शहरुद्दीन उर्फ शेरा नामका युवकको करिब तीन वर्षअघि विवाह भएको थियो र उनको करिब २ वर्षको छोरा पनि छ ।
विवाहपछि उनको बेला थाना क्षेत्र घर भएकी सालीसँग प्रेम सम्बन्ध विकसित भयो । युवकले परिवारसँग सालीसँग दोस्रो निकाह गर्न माग गरेका थिए । परिवारले विरोध गरेपछि सोमबार बिहान करिब साढे ९ बजेतिर उनी गाउँबाहिरको मोबाइल टावरमा चढेका थिए ।
युवक टावरमा चढेपछि स्थानीयहरूको भीड जम्मा भएको थियो । सूचनापछि परिवारका सदस्य, सहार थाना प्रहरी र दमकल टोली घटनास्थलमा पुगेको थियो । प्रहरी र परिवारले युवकलाई समझाउन धेरै प्रयास गरे तर उनी सालीलाई बोलाउनुपर्ने अडानमा रहे ।
अन्ततः बेला थानाबाट सालीलाई बोलाएर फोनमार्फत युवकसँग कुरा गराइयो । सालीले तल ओर्लन आग्रह गरेपछि करिब साढे चार घण्टापछि युवक टावरबाट ओर्लिए ।
युवककी श्रीमती भने घटनास्थलमा पुगिनन् । सालीले फोनमा भनेकी थिइन्, “तल आएपछि मात्र कुरा गर्छु ।” युवक राजस्थानमा मेहँदीको पात टिप्ने मजदुरी गर्छन् र केही दिनअघि मात्र घर फर्किएका थिए ।
सहार थाना प्रभारी रमेश सिंहका अनुसार युवकलाई सम्झाएर परिवारसँग घर पठाइएको छ । काउन्सेलिङपछि कुनै मुद्दा दर्ता नगरी छोडिएको बताइएको छ । घटनाले हिन्दी चलचित्र ‘शोले’ को प्रसिद्ध दृश्यको सम्झना गराएको छ ।