वीरगन्ज । नेपाल विद्यार्थी संघले हरिखेतान बहुमुखी क्याम्पसमा ११ सदस्यीय विद्यार्थी युनियन गठन गरेको छ। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्जिनियर मुनराज तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित कार्यक्रममा नेपाल विद्यार्थी संघ स्ववियु परिषद् केन्द्रीय अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा युनियन गठन गरिएको हो।
नवगठित युनियनको अध्यक्षमा सुरज यादव चयन भएका छन्। उपाध्यक्षमा रञ्जन गुप्ता, सचिवमा आकाश कलवार, सह–सचिवमा प्रिन्स साह कानु तथा कोषाध्यक्षमा निभा कुमारी सर्राफ चयन भएका छन्। यस्तै, सदस्यहरूमा इरशाद आलम, दिपेश ठाकुर, रामप्रवेश यादव, चन्दन शर्मा, सुदिप राज ठाकुर र मुस्कान पटेल रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ स्ववियु परिषद् केन्द्रीय अध्यक्ष राजकुमार यादवले हरिखेतान बहुमुखी क्याम्पसमा विद्यमान विभिन्न समस्या र बेथितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले क्याम्पसमा देखिएका शैक्षिक तथा प्रशासनिक समस्याको समाधानका लागि सम्बन्धित निकायलाई अवगत गराइसकेको र ती समस्या समयमै समाधान हुने विश्वास व्यक्त गरे।
प्रमुख अतिथि इन्जिनियर मुनराज तिवारीले विद्यार्थी हित, शैक्षिक गुणस्तर अभिवृद्धि तथा क्याम्पस सुधारका लागि संगठित र जिम्मेवार विद्यार्थी नेतृत्वको आवश्यकता औँल्याउँदै नवगठित युनियनलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
कार्यक्रममा क्याम्पसका विद्यार्थीहरू, नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नवगठित विद्यार्थी युनियनले क्याम्पसमा देखिएका शैक्षिक, प्रशासनिक तथा विद्यार्थीसम्बन्धी समस्याको समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।