वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पताल परिसरभित्र मंगलबार साँझ आगलागीको घटना भएको छ। अस्पतालको ऐश्वर्य प्रसूति गृह भवनमा रहेको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयु) वार्डमा साँझ करिब ४ः३० बजे आगो लागेको हो।
प्रहरीका अनुसार एनआईसीयु वार्डमा जडान गरिएको एयर कन्डिसनर (एसी) को विद्युतीय तार सर्ट भएपछि आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
अस्पतालका चिकित्सक डा. दीपक चौरसियाका अनुसार आगलागीका कारण एनआईसीयु वार्डमा जडान गरिएको एक थान एसी पूर्ण रूपमा जलेर नष्ट भएको छ। अन्य भौतिक संरचनामा भने कुनै क्षति नभएको उनले बताए।
आगो लाग्नेबित्तिकै अस्पतालका कर्मचारीहरूले सतर्कता अपनाउँदै तत्काल विद्युत् आपूर्ति काटी अस्पतालमै उपलब्ध फायर ग्यास सिलिण्डरको प्रयोग गरी आगो नियन्त्रणमा लिएका थिए। त्यसपछि वीरगन्ज महानगरपालिकाको दमकल पनि घटनास्थलमा पुगेको भए पनि आगो पहिल्यै नियन्त्रणमा आइसकेकाले प्रयोग गर्नु नपरेको अस्पताल प्रशासनले जनाएको छ।
आगलागीको समयमा एनआईसीयु वार्डभित्र कुनै पनि नवजात शिशु नरहेकाले सम्भावित ठूलो दुर्घटनाबाट जोगिन सफल भएको अस्पताल प्रशासनले स्पष्ट पारेको छ।