काठमाडौं । शाखा अधिकृतको नक्कली परिचय बनाएर सिंहदरबार धाउने र सर्वसाधारणदेखि उच्चपदस्थ कर्मचारीसम्मलाई गुमराहमा पार्ने न्युरोडका समन श्रेष्ठको ठगी कर्तुत सार्वजनिक भएको छ। लिखत कीर्ते तथा ठगी आरोपमा पक्राउ परेका श्रेष्ठको गतिविधि सुन्दा अनुसन्धानमा संलग्न प्रहरीहरू समेत अचम्मित भएका छन्।
प्रहरीका अनुसार श्रेष्ठले आफू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शाखा अधिकृत भएको दाबी गर्दै नक्कली परिचय पत्र, सरकारी पोशाक र निजामती कर्मचारीको ढाकाटोपी प्रयोग गर्थे। उनले सिंहदरबार प्रवेशद्वारमा खटिएका सुरक्षाकर्मीबाट नियमित सलाम खानकै लागि दिनमा ६ पटकसम्म सिंहदरबार भित्र–बाहिर गर्ने गरेको खुलेको छ।
सबैभन्दा चकित पार्ने तथ्य भनेको, श्रेष्ठले आफ्नै आमालाई समेत झुक्याएको हो। शाखा अधिकृतमा नाम निकाल्न खर्च लाग्यो भन्दै उनले आमासँग २७ लाख रुपैयाँ लिएको र विश्वास दिलाउन मासिक ३५ हजार रुपैयाँ तलब भन्दै बुझाउने गरेको प्रहरीले जनाएको छ। छोरो सरकारी पोशाकमा परिचय पत्र बोकेर घरबाट निस्कँदा आमा पूर्ण रूपमा विश्वस्त थिइन्।
प्रहरी अनुसन्धानमा खुलेअनुसार श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने कहिल्यै प्रवेश गरेका थिएनन्। ‘सामान्य प्रशासन मन्त्रालय छिरे थप सोधीखोजी हुन्थ्यो भन्ने डरले नछिरेको’ बयान उनले प्रहरीसमक्ष दिएका छन्।
श्रेष्ठको कर्तुत एक युवतीको उजुरीपछि बाहिर आएको हो। ती युवतीले युनिसेफमा जागिर लगाइदिने प्रलोभनमा पारेर दुर्व्यवहार गरेको गुनासो गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो। श्रेष्ठले ती युवतीलाई नक्कली नियुक्ति पत्रसमेत दिएको र मासिक तलब भन्दै ई–सेवाबाट २७ हजार रुपैयाँ पठाउने गरेको खुलेको छ।
प्रहरीले सोधपुछका क्रममा श्रेष्ठले आफू ६७ औँ ब्याचको शाखा अधिकृत भएको दाबी गरे पनि लोक सेवा आयोगमा बुझ्दा हालसम्म ४७ औँ ब्याचसम्म मात्रै भर्ना भएको तथ्य फेला परेको थियो। यसपछि नक्कली परिचय पत्र प्रयोग गरिएको पुष्टि भएको हो।
बरामद परिचय पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शाखा अधिकृत उल्लेख छ, जसको अवधि २०८२/०१/०३ देखि २०८३/०१/०३ सम्म देखाइएको छ। परिचय पत्रमा प्रमाणित गर्ने दस्तखत समेत श्रेष्ठ आफैंले गरेको प्रहरीले जनाएको छ। कार्ड, पोशाक र अन्य सामग्री पनि उनले आफैं छपाइ तथा सिलाइ गराएको खुल्यो।
यसैबीच, मन्त्रालयको सिफारिस बनाइदिने नाममा अर्को समूहबाट सात लाख रुपैयाँ असुली गरेको उजुरी पनि प्रहरीमा परेको छ।
अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार श्रेष्ठले ठग्ने मनसायले योजनाबद्ध रूपमा नक्कली परिचय पत्र बनाई आश्वासन बाँड्दै हिँड्ने गरेको देखिन्छ। हाल उनलाई लिखत कीर्ते मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ।
प्रहरीका अनुसार अहिलेसम्म लिखित रूपमा एक जनाको मात्रै उजुरी परेको भए पनि श्रेष्ठबाट अन्य धेरै व्यक्ति पीडित भएको हुन सक्ने आशंका गरिएको छ।