भारत । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले इतिहास रचेको छ । यस वर्षको आफ्नो अन्तिम मिसनमा इसरोले आफ्नो सबैभन्दा ठुलो सञ्चार उपग्रह ब्लूबर्ड ब्लक–२ को सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो पूर्ण रूपमा व्यावसायिक प्रक्षेपण थियो ।
यस अभियानले अमेरिकी कम्पनी एएसटी स्पेसमोबाइलको स्वामित्वमा रहेको ब्लूबर्ड ब्लक–२ सञ्चार उपग्रहलाई पृथ्वीको तल्लो कक्षमा सफलतापूर्वक राखेको छ । इसरोले प्रक्षेपणको लागि आफ्नो एलवीएम३ रकेट प्रयोग गरेको थियो । यो प्रक्षेपण यानको छैटौँ उडान र व्यावसायिक अभियानको लागि तेस्रो थियो ।
प्रक्षेपण आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट बुधबार बिहान ८ः५५ बजे भएको थियो। इसरोका अनुसार, लगभग १५ मिनेटको उडान पछि, सञ्चार उपग्रह रकेटबाट अलग भयो र लगभग ५२० किलोमिटरको उचाइमा पृथ्वीको तल्लो कक्षमा स्थापित गरियो । यो मिसन न्यूस्पेस इन्डिया लिमिटेड (नएसआईएल) र अमेरिकाको एएसटी स्पेसमोबाइलबीचको व्यावसायिक सम्झौताको अंश हो ।
यो परीक्षणको सफलताले व्यावसायिक अन्तरिक्ष क्षेत्रमा भारतको अन्तरिक्ष एजेन्सी इसरोको पकड निकै बलियो हुनेछ । ब्लू बर्ड ब्लक–२ उपग्रहको तौल लगभग ६ हजार ५०० किलोग्राम छ । यो तल्लो पृथ्वीको कक्षामा राखिएको अहिलेसम्मकै सबैभन्दा ठुलो व्यावसायिक सञ्चार उपग्रह हो ।
भारतले आफ्नो एलवीएम३ प्रक्षेपण यान प्रयोग गरेर चन्द्रयान–२, चन्द्रयान–३, र विश्वव्यापी उपग्रह इन्टरनेट प्रदायक वन वेबको सेटलाइट पनि सफलतापूर्वक प्रक्षेपण गरेको छ ।