काठमाडौँ । पुराना दल तथा नयाँ वैकल्पिक शक्तिहरूको बिचमा ध्रुवीकरण बढी रहेको बेला राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष डा. राजीव झाले मधेसवादी दलहरूलाई आगामी निर्वाचनमा एक भएर चुनाव लड्न आह्वान गरेका छन् ।
उनले बुधबार एक प्रेसनोट जारी गर्दै मधेसवादी राजनीति निर्णायक मोडमा पुगेको उल्लेख गर्दै एकता नभए मधेस आन्दोलनका उपलब्धि, सहिदको बलिदान र मधेसी जनताको राजनीतिक एकता खतरामा पनि पर्ने चेतावनी दिएका छन् ।
उपाध्यक्ष झाले मधेसका आम नागरिकको साझा चाहना सबै मधेसवादी दल एक भएर अघि बढ्नु भएको बताए । उनका अनुसार छुट्टाछुट्टै रूपमा कुनै पनि दल प्रभावकारी बन्न नसक्ने तर साझा मोर्चामा चुनाव लडिए प्रत्यक्षतर्फ कम्तीमा ५० सिट र समानुपातिकतर्फ २५–३० सिट जित्ने सम्भावना देखिन्छ ।
उनले सहिदको बलिदान स्मरण गर्दै आपसी विभाजनमा चुनाव लड्नु मधेस आन्दोलनमाथि अन्याय हुने बताए । साथै सिट बाँडफाँट गर्दा दल होइन, उम्मेदवारको योग्यता, आन्दोलनप्रतिको योगदान र जनविश्वासलाई आधार बनाउनुपर्ने उनले बताए ।
डा.झाले एकता नभए मधेसवादी राजनीति इतिहासमा सीमित हुने चेतावनी दिँदै मधेस, सहिद र भावी पुस्ताको भविष्यका लागि चुनावी एकता अपरिहार्य भएको बताएका छन् ।
जेनजी आन्दोलनको नाममा परिवर्तन, सुशासन र भ्रष्टाचारविरोधी नाराहरू गुन्जिरहेका छन् । तर यो आन्दोलनको पवित्र उद्देश्यलाई राजनीतिक अवसरवादले कब्जा गरिसकेको बताउँदै उपाध्यक्ष झाले रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङ, हर्क सापाङजस्ता नेताहरु अझै पहिचान तथा संघीयताको विषयमा स्पष्ट नरहेको बताएका छन् । उनीहरुले मधेसी सहिदलाई देशका लागि सहिद मान्नसमेत तयार नरहेको आरोप लगाउँदै उनले संघीयताको विषय जानाजान ओझेलमा पार्ने काम उनीहरूबाट भइरहेको दावी गरेका छन् ।