काठमाडौं । जनादेश पार्टीकी उपाध्यक्ष एलिजा गौतम आम जनता पार्टीमा प्रवेश गरेकी छन्। उनी आम जनता पार्टीमा उपाध्यक्ष पदमा प्रवेश गरेकी हुन्।
जनादेश पार्टीका संयोजक रमनकुमार कर्णले गौतमको पार्टी प्रवेश पार्टी परित्यागको रूपमा नभई आगामी निर्वाचन र चुनावपछिको पार्टी एकीकरणको रणनीतिक सहकार्य भएको बताएका छन्। उनले जनादेश र आम जनता पार्टी आगामी निर्वाचनमा एउटै चुनाव चिह्नमार्फत प्रतिस्पर्धा गर्ने र निर्वाचनपछि औपचारिक रूपमा एकीकृत पार्टी बनाउने सहमति भइसकेको बताए।
संयोजक कर्णले भने, ‘हामी एउटै चुनाव चिह्नमा निर्वाचनमा जाने सहमतिमा छौँ। चुनावपछि पार्टी एकीकरण गर्ने उद्देश्यले नै एलिजा गौतमलाई आम जनता पार्टीमा पठाइएको हो। यो सहमतिमै आधारित निर्णय हो।’
उनले जनादेश र आम जनता पार्टी छुट्टाछुट्टै नभई एउटै राजनीतिक धारमा उभिएको बताउँदै दुवै पार्टीबीच सहकार्य हुने बताए।
यसैगरी आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले एलिजा गौतम पदको आकांक्षाका कारण नभई सफा राजनीति, राष्ट्रियता र देश विकासको एजेन्डा बोकेर पार्टीमा आएको बताए। उनले गौतमले आफ्नो पार्टी छोडेको नभई दुई पार्टीलाई एउटै बनाउने उद्देश्यले सहकार्यमा जोडिएको स्पष्ट पारे।
‘हामी दुईवटा पार्टी छुट्टाछुट्टै चुनाव चिह्नमा होइन, एउटै चुनाव चिह्नमा निर्वाचनमा जान्छौँ। चुनावपछि पार्टी एकीकरण गर्ने प्रतिबद्धता समेत भएको छ,’ शाहले भने।
अध्यक्ष शाहले नयाँ राजनीतिक परिवेशमा आम जनता पार्टीले राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण, भ्रष्टाचारविरुद्ध संघर्ष र आर्थिक सुधारलाई मुख्य एजेन्डा बनाएको बताए।