पर्सा । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–४ मा जग्गा विवादका कारण कुटपिट हुँदा दुई जना महिला गम्भीर रूपमा घाइते भएका छन्। पर्सागढी–४ निवासी सुरेन्द्र पाण्डे र सोही स्थानका राजिन्दर यादव तथा धुरेन्द्र यादव पक्षबीचको जग्गा विवादले उग्र रूप लिँदा उक्त घटना भएको हो।
कुटपिटबाट घाइते हुनेमा रनिता कुमारी पाण्डे र चाँदनी कुमारी पाण्डे रहेका छन्। दुबै जनाको हात र खुट्टा भाँचिएको बताइएको छ। घाइतेहरूको उपचार भइरहेको छ।
पीडित सुरेन्द्र पाण्डेले आफ्नो स्वामित्वको जग्गामा बाउन्ड्री वाल निर्माण गर्दा यादव पक्षले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै कुटपिट गरेको आरोप लगाएका छन्। कुटपिटसँगै यादव पक्षले घरभित्र लुटपाटसमेत गरेको पाण्डेले बताए।
पाण्डेका अनुसार विवादित जग्गा पाँच वर्षअघि नै नाप–नक्सा गरी वडा अध्यक्षको रोहबरमा छुट्याइसकिएको भए पनि राजनीतिक रिसिबीका कारण यादव पक्षले पटक–पटक झगडा गर्ने गरेको छ। यादव पक्षले पाण्डेले निर्माण गरेको बाउन्ड्री वालसमेत भत्काएको आरोप पाण्डेको छ।
घटनाबारे स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराइएको बताइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।