सप्तरी । जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा १९५ एचआईभी पोजेटिभले नियमित उपचार गराउदै आएका छन् । एक सय ९५ पोजिटिभमध्ये एक सय ११ पुरूष, ७५ महिला र नौ जना बालबालिकाले नियमित उपचार तथा औषधी खाइरहेको अस्पतालको तथ्याङ्कमा छ ।
पोजेटिभमध्ये सबैभन्दा बढी २५ वर्षदेखि ५० वर्षको उमेरको समूहको रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका एचआईभी काउन्सिलर वरिष्ठ स्टाफ नर्स सुनिता यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘गत वर्षसम्म एक सय ८९ जना एचआईभी पोजेटिभ हुनुहुन्थ्यो । यस वर्ष ६ जना थपिएपछि एक सय ९५ पुगेको हो ।’’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको यस उपचार केन्द्रमा एक सय ९५ जना एचआईभी पोजेटिभले नियमित औषधीसहित आवश्यक उपचार गराई रहेको उहाँले बताउनुभयो ।
एचआईभी पोजेटिभ नौ जना बालबालिका पोजेटिभ आमा बाबुबाट जन्मेको बालबालिका रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बालबालिकाको जन्म भइसकेपछि आमाबाबु सम्पर्कमा आएपछि चेकजाँच गर्दा बालबालिका एचआईभी पोजेटिभ भएको पाइएको हो । बच्चा जन्माउनु अघि हामीसँग परामर्श लिन आएकाहरूको बेलैमा उपचार गराएर १० जना निगेटिभ बच्चा जन्माउन सफल भएको छौँ ।’’
एचआईभी पोजेटिभ दम्पत्ति आमा वा बुबाबाट बच्चा जन्माउने योजना बनाएपछि बच्चा गर्भमा बस्नु अघि, बसिसकेपछि र जन्मिसकेपछि नियमित उपचार र औषधीको प्रयोग भयो, सावधानी अपनाइयो भने निगेटिभ बच्चा जन्माउन सक्ने भएकाले यस्ता आमाबाबुले आवश्यक परामर्श लिइ नियमित उपचार गराएर बच्चा जन्माउन उहाँले आग्रह गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रको विषयमा जानकारी भएकाहरू मात्र यहाँ सम्पर्कमा आउने र उपचार गराउने गरेकाले जिल्लामा एचआईभी पोजेटिभको सङ्ख्या बढी हुन सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
एचआईभी पोजेटिभ स्वास्थ्य सम्बन्धित विभिन्न समस्या लिएर आउने गरेकाले पोजेटिभ हुने डरले तत्काल स्वास्थ्यकर्मीहरूले उपचार गर्न सङ्कोच मान्ने गरेकोले उनीहरूको उपचार गर्न चुनौती रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नियमित औषधीका लागि कहिलेकाही एचआईभी पोजेटिभहरूको घरघर गएर औषधी पु¥याउने, औषधी प्रयोग र उपचारका लागि परामर्श दिँदै आएको छौँ ।’’