पर्सा । पर्साको कालिकामाई गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा शुक्रबार हाजिर भई औपचारिक रूपमा कार्यभार सम्हाल्नु भएको छ। यस अवसरमा गाउँपालिकाले एक समारोहबीच जनप्रतिनिधि तथा कर्मचारीहरूसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।
कालिकामाई गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फुलमती देवी बरैनले प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई गमछा र फूलमाला लगाई स्वागत गर्नु भएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई जनप्रतिनिधि र कर्मचारीहरूले फूलमाला तथा अबिर लगाई स्वागत गरेका थिए। पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै कुशवाहाले गाउँपालिकाको कामकाज नियमसंगत रूपमा अगाडि बढाइने र विकास निर्माणका कार्यहरूले गति लिनेमा आफू विश्वस्त रहेको बताउनु भयो।
स्वागत तथा परिचयात्मक कार्यक्रममा वडा अध्यक्षहरू लालबाबु चौरसिया, संजय पटेल, सोनालाल चौरसिया, संजय प्रसाद गोढ, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया, कृषि शाखा प्रमुख रणधिर चौरसिया लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।
यसैबीच, कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी सरुवा भई जिराभवानी गाउँपालिका जानु भएको छ।