वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले प्रतिबन्धित लागुऔषध ओसारपसार नियन्त्रण अभियानलाई तीव्र बनाउँदै सीमावर्ती क्षेत्रबाट गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय तथा नं. २ छिन्नमस्ता बाहिनीको नीति तथा निर्देशनअनुसार पर्सामा लागुऔषध तथा चोरी–तस्करी नियन्त्रण अभियान सञ्चालन गर्दै आएको सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडा निगरानी राख्दै सुरक्षा परिचालन गरिरहेको छ। यही अभियानअन्तर्गत विभिन्न समयमा पर्सा जिल्लाका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरी सम्बन्धित निकायलाई बुझाउँदै आएको छ। गत मंसिर महिनामा मात्र ३२३ केजी प्रतिबन्धित गाँजा बरामद गरिएको थियो भने पौष ९ गते बिन्दबासिनी गाउँपालिका–५ स्थित धुताहा खोलाबाट १२० केजी गाँजा र पौष १० गते वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट ७३८ फायल नाइट्राभेट बरामद गरी नेपाल प्रहरीलाई बुझाइएको थियो।


यसै क्रममा मिति २०८२ साल पौष १२ गते पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा चोकमा सुरक्षा बेस पोखरीयाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले चेकपोइन्ट राखी सवारी साधन चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरेको BR22U 1178 नम्बरको मोटरसाइकलको डिक्कीमा लुकाइछिपाइ राखिएको करिब ५ केजी गाँजा फेला परेको थियो। उक्त मोटरसाइकल चालक पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका–५ सबैठवा निवासी करिब ४३ वर्षका रबिन्द्र महतो रहेका थिए।
त्यसैगरी BR22A 5302 नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा करिब ४ केजी ३०० ग्राम गाँजासहित भारत बेतिया जिल्लाको बेहरा झुम्का–१४ निवासी करिब ३७ वर्षका अशोक महतो पक्राउ परेका छन्। दुवै घटनाबाट जम्मा ९ केजी ३०० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गाँजा, प्रयोग गरिएको दुई थान मोटरसाइकल, दुई थान मोबाइल फोन र भारतीय रुपैयाँ १ हजार ४५० सहित दुवै व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी