पर्सा । पकहाँ मैनपुर गाउँपालिकाले अत्याधिक चिसो र मौसममा सुधार नआएकाले गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरूमा जाडो बिदा थप गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालय, पकहाँ मैनपुर गाउँपालिका, पर्साद्वारा जारी सूचनाअनुसार, चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने देखिएकाले अध्ययन अध्यापनलाई ध्यानमा राख्दै मिति २०८१ पुस १३ र १४ गते (दुई दिन) जाडो बिदा थप गरिएको हो।
यसअघि तय गरिएको मिति २०८१ पुस १५ गतेको बिदा यथावत् रहने जनाइएको छ। मौसम अनुकूल भएमा मिति २०८१ पुस १६ गते बुधबारदेखि विद्यालयहरू पूर्ववत् रूपमा सञ्चालन हुने जानकारी दिइएको छ।
यसअघि वीरगंज महानगर र बिन्दबासिनी गाउँपालिकाले पनि जाडो बिदा थप गरिसकेका छन्।
गाउँपालिकाले सबै विद्यालयहरूलाई उक्त निर्णयको जानकारी गराउँदै तोकिएको मितिदेखि विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ।