वीरगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाबाट ३ लाख ७६ हजार भन्दा बढी मतदाता सहभागी हुने भएका छन् ।जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार, फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाबाट २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुरा हुने कूल मतदाताको संख्या ३ लाख ७६ हजार ५१३ जना रहेको छ ।
तीमध्ये पुरुष मतदाता २ लाख १२ हजार ७७ , महिला मतदाताको संख्या १ लाख ६४ हजार ४२१ र अन्य लिंगका मतदाता १५ जना रहने जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये सबै भन्दा बढी मतदाता निर्वाचन क्षेत्र नम्बर ३ मा ९६ हजार ५४२ , क्षेत्र नम्बर ४ मा ९५ हजार २१३, क्षेत्र नम्बर २ मा ९५ हजार १२० र क्षेत्र नम्बर १ मा ८९ हजार ६३८ रहेका छन् ।
यसअघि २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पर्सामा कूल ३ लाख ४५ हजार ९२८ जना मतदाता थिए । जसमध्ये पुरुष मतदाताको संख्या १ लाख ९४ हजार ९०४ ,महिला मतदाताको संख्या १ लाख ५१ हजार ८ र अन्य लिंगका मतदाता १६ जना थिए ।
पर्सामा गत २०७९ को प्रतिनिधि सभा निर्वाचन भन्दा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा ३० हजार ५८५ मतदाता थपिएको कार्यालय प्रमुख अनामिका रौनियारले जानकारी दिइन् ।
यस्तै आगामी फागुन २१ को निर्वाचनका लागि पर्सा जिल्लामा मतदान स्थल १ सय ६७ वटा र मतदान केन्द्र ४ सय ४१ वटा निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
पर्सा जिल्लाको क्षेत्र नम्बर ४ मा सबै भन्दा बढी ४८ वटा मतदाना स्थल र १ सय १४ वटा मतदान केन्द्र र निर्वाचन क्षेत्र नम्बर १ मा सबै भन्दा कम ३४ वटा मतदान स्थल र १ सय ३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
यसअघि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पर्सामा मतदान स्थल १ सय ६९ वटा र मतदान केन्द्र ४ सय १७ वटा निर्धारण गरिएको थियो ।