पकाहा मैनपुर । पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–४ स्थित श्यामपुर भेलाहामा आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमालसहित फुसको घर पूर्ण रूपमा जलेर ध्वस्त भएको छ।
बुधबार साँझ करिब ५ बजे खाना पकाउने क्रममा स्थानीय विमल साह गोडको फुसको घरमा अचानक आगलागी भएको हो। आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा, ओछ्यानलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घर जलेर नष्ट भएपछि पीडित परिवार अहिले चिसोमा खुला आकाशमुनि रात बिताउन बाध्य भएको पीडितका छोरा सोनालाल साह गोडले दुखेसो व्यक्त गर्नुभयो। उहाँका अनुसार आगलागीबाट दैनिक जीवनयापनका आवश्यक सबै सामग्री नष्ट हुँदा खाना पकाउने र बसोबासको गम्भीर समस्या उत्पन्न भएको छ।
चिसो मौसमका कारण थप कठिनाइ भोगिरहेका पीडित परिवारले स्थानीय सरकार तथा सरोकारवाला निकायसँग राहतको माग गरेका छन्।