बारा । सीमावर्ती जिल्लामा तस्करी कति संगठित र प्रभावशाली भइसकेको छ भन्ने गम्भीर संकेत बारामा देखिएको छ। नेपाल प्रहरीका एक अधिकृतबाटै सरकारी पेस्तोल खोसिएर तस्कर समूह फरार भएको घटना सार्वजनिक भएपछि सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।
इलाका प्रहरी कार्यालय कबहीमा कार्यरत सई सोनुकुमार मिश्रले ड्युटीका क्रममा बोकेको सरकारी पेस्तोल तस्कर समूहले खोसेर लगेको तथ्य खुलेको हो। तर आश्चर्यजनक पक्ष के छ भने—घटना भएको पूरै सात दिनसम्म प्रहरी संगठनले यस विषयलाई बाहिर आउन दिएन।
पुस ११ गते साँझ सीमाक्षेत्रमा तस्करी नियन्त्रणका क्रममा सई मिश्रले ‘नाइन एमएम’ पेस्तोल निकाल्ने प्रयास गरेलगत्तै तस्कर समूहले उनलाई घेरेर हतियार खोसेको प्रहरी स्रोतको दाबी छ। त्यसपछि तस्करहरू फरार भएका थिए।
प्रहरी स्रोतका अनुसार सई मिश्रलाई कार्यक्षेत्रमा कमजोर रूपमा लिइँदै आएको थियो। यस्तो जानकारी हुँदाहुँदै पनि जिल्ला प्रहरी कार्यालयले समयमै व्यवस्थापन नगर्दा तस्करहरूले सहजै अवसर पाएको आरोप लागिरहेको छ।
घटनापछि सात दिन बितिसक्दा पनि लुटिएको पेस्तोल फेला पर्न नसक्नुले सुरक्षा जोखिम झनै बढाएको छ। सीमावर्ती क्षेत्रमा तस्करहरू प्रहरीकै हतियार लिएर सक्रिय हुन सक्ने आशंकाले स्थानीयवासीमा त्रास फैलिएको छ।
घटना सार्वजनिक भएपछि मात्रै मधेस प्रदेश प्रहरी कार्यालय सक्रिय देखिएको छ। बिहीबार एसपी भेषराज रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।
बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले पेस्तोल हराएको पुष्टि गर्दै छानबिन प्रक्रिया अघि बढाइएको बताएका छन्। उनका अनुसार नियमित गस्तीका क्रममा हतियार हराएको हो र घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान जारी छ।
“छानबिन समिति गठन भइसकेको छ, के कसरी भयो भन्ने कुरा चाँडै खुल्छ,” एसपी कुँवरले भने।
तर सात दिनसम्म घटनालाई गोप्य राख्नु, तस्कर पक्राउ नपर्नु र सरकारी हतियार अझै बेपत्ता हुनुले प्रहरी प्रशासनको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाइरहेको छ।