वीरगञ्ज । पर्सा जिल्लामा पछिल्ला दिनहरूमा क्यासिनो माफियाको गतिविधि तीव्र बन्दै गएको छ । नयाँ वर्ष २०२६ तथा विभिन्न चाडपर्वको अवसर पारेर क्यासिनो सञ्चालकहरूले मनोरञ्जन कार्यक्रमको नाममा नेपाली युवाहरूलाई अवैध रूपमा क्यासिनो प्रवेश गराई जुवा र मदिरातर्फ आकर्षित गराउँदै ठगी गर्ने क्रम बढेको पाइएको छ ।
नेपाल सरकारको स्पष्ट कानुनी व्यवस्थाअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण प्रतिबन्ध छ । तर वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित किङ्ग क्यासिनो मा खुलेआम नेपाली नागरिकलाई प्रवेश गराई जुवा, मदिरा सेवन र उत्तेजक मनोरञ्जन कार्यक्रम सञ्चालन गरिएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ ।
नयाँ वर्ष २०२६ को अवसरमा डिसेम्बर ३१ को राति किङ्ग क्यासिनोभित्र विशेष ‘न्यु इयर सेलिब्रेसन’ कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भारतको बिहारकी चर्चित भोजपुरी अभिनेत्री अमरपाली दुबे सहित आधा दर्जनभन्दा बढी महिला नृत्यांगनाहरूको सहभागिता थियो । प्रत्यक्षदर्शीहरूका अनुसार कार्यक्रमको आडमा मदिराले मातिएका ग्राहक, अश्लील नृत्य तथा खुला जुवा निर्वाध रूपमा सञ्चालन गरिएको थियो ।
राति करिब १० बजेदेखि सुरु भएको कार्यक्रममा १२ बजे अमरपाली दुबेले केक काट्दै नयाँ वर्षको स्वागत गरेकी थिइन् । त्यसपछि अश्लील भोजपुरी गीतमा नृत्य प्रस्तुत गरिएको र राति करिब २ बजेदेखि कार्यक्रम झनै उत्तेजक बन्दै गएको प्रत्यक्षदर्शीहरूको दाबी छ ।
क्यासिनोभित्र बारा र पर्साका ग्रामीण क्षेत्रदेखि बजारसम्मका नेपाली युवाहरूको बाक्लो उपस्थिति देखिएको थियो । दर्जनभन्दा बढी पाको उमेरका नेपाली नागरिकहरू समेत खुलेआम जुवामा संलग्न रहेको जनाइएको छ । सोही कार्यक्रममा सहभागी बारा निवासी एक नेपाली युवाले करिब २० लाख रुपैयाँ हारिएको घटनासमेत बाहिर आएको छ ।
स्थानीयका अनुसार वीरगञ्जका अधिकांश क्यासिनोहरूमा नेपाली नागरिकलाई सजिलै प्रवेश दिइँदा जुवा खेल्नेहरूको चहलपहल दिनानुदिन बढ्दै गएको छ । तर अवैध क्यासिनो र जुवा नियन्त्रणमा प्रशासनिक पहल कमजोर देखिन्छ । प्रहरी नेतृत्वमा पटक–पटक परिवर्तन भए पनि अवस्था उस्तै रहेको स्थानीयको गुनासो छ ।
क्यासिनो सञ्चालकहरूले मदिरा निःशुल्क उपलब्ध गराई युवाहरूलाई जुवातर्फ फसाउने गरेको जानकारहरूको भनाइ छ । यसअघि पनि किङ्ग क्यासिनोका कारण वीरगञ्ज–२५ का एक युवा आर्थिक रूपमा पूर्ण रूपमा बर्बाद भएको तथा गहवा र आदर्शनगरका दर्जनौं युवा ठगीको सिकार भएको बताइन्छ ।
समाचार स्रोतका अनुसार क्यासिनो सञ्चालकहरूको राजनीतिक पहुँच निकै बलियो छ । कतिपय सञ्चालक नेता तथा मन्त्रीका आसेपासे हुनुका साथै क्यासिनोमै नेताहरूको लगानी रहेको आरोप लगाइएको छ । यही कारण नियम विपरीत नेपाली नागरिकलाई प्रवेश गराउँदा पनि सुरक्षा निकाय मौन बसिरहेको दाबी गरिएको छ ।
क्यासिनो नियमावली, २०७० अनुसार नेपाली नागरिकलाई प्रवेश गराउने क्यासिनोको इजाजतपत्र रद्द गर्न सकिने स्पष्ट व्यवस्था छ । तर दियालोमा सञ्चालित किङ्ग क्यासिनोले खुलेआम नियमको धज्जी उडाइरहँदा पनि नियमन निकाय मूकदर्शक बनेको आरोप छ ।
यसैबीच वीरगञ्ज आदर्शनगरस्थित स्काईलाइन इन्फ्रा लिमिटेड भित्र नयाँ क्यासिनो सञ्चालनमा आएको छ । उक्त क्यासिनोले पनि कानुन विपरीत नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको आरोप स्थानीयहरूले लगाएका छन् । स्काईलाइन मल भारतीय सीमाबाट करिब तीन किलोमिटरको दूरीमा रहेको हुँदा जिल्ला सुरक्षा समितिको सिफारिस अनिवार्य हुने व्यवस्था छ । साथै २०८० चैत ३० गते जारी पर्यटन ऐनले अन्तर्राष्ट्रिय सीमाबाट पाँच किलोमिटरभित्र नयाँ क्यासिनो सञ्चालनमा रोक लगाएको छ ।
यी सबै कानुनी प्रावधानलाई बेवास्ता गर्दै क्यासिनो सञ्चालन भइरहँदा राज्यको कानुनी शासनमाथि गम्भीर प्रश्न उठेको छ ।
यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल ले प्रहरीसँग सहकार्य गरी जानकारी लिने प्रतिक्रिया दिएका छन् । तर पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठक र मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया सँग सम्पर्क गर्दा फोन नउठेको बताइएको छ ।
स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै पनि नियमको कार्यान्वयन नहुनु र सम्बन्धित निकायको मौनताले पर्सा जिल्लामा क्यासिनो माफियाको मनोबल झनै बढाएको स्थानीयको निष्कर्ष छ ।