महोत्तरी । महोत्तरीसहित मधेश प्रदेशभर स्थायी परिवार नियोजनका लागि सञ्चालन हुने बन्ध्याकरण शिविरमा पुरुषको सहभागिता शून्य देखिएको छ। महोत्तरीमा हाल सञ्चालन भइरहेको एकीकृत परिवार नियोजन बन्ध्याकरण शिविरको तथ्यांक र दृश्यले यही यथार्थ पुष्टि गर्छ।
गौशाला नगरपालिका, बर्दीबास नगरपालिका, औरही नगरपालिका, मनरा सिस्वा नगरपालिका, एकडारा गाउँपालिका, बल्वा नगरपालिका र लोहारपट्टी नगरपालिका लक्षित गरी पाँच स्थानमा सञ्चालन भएका शिविरमा हालसम्म कुल ३१९ जनाले स्थायी बन्ध्याकरण गराइसकेका छन्। तर, बन्ध्याकरण गराउनेमध्ये एकजना पनि पुरुष छैनन्।
शिविरकी स्रोत व्यक्ति तथा पब्लिक हेल्थ नर्स सिर्जना यादवका अनुसार अहिलेसम्म पुरुष एकजनाले पनि शिविरमा आएर बन्ध्याकरण गराएका छैनन्।
‘महिलाको भन्दा पुरुषको बन्ध्याकरण सजिलो हुन्छ, घाउ पनि छिट्टै निको हुन्छ,’ यादव भन्छिन्, ‘तर, काउन्सिलिङ गर्दा पनि पुरुषहरू राजी हुँदैनन्।’
सन्तानको योजना महिलाको मात्र जिम्मेवारी नभई पुरुषको पनि साझा दायित्व हुनुपर्ने भए पनि शिविरमा पुरुष भेटिनै मुस्किल हुने गरेको यादवको भनाइ छ।
‘बाहिर ठुला–ठुला कुरा गर्ने पुरुषहरू पनि बन्ध्याकरणको वेला महिलालाई नै अघि सार्छन्,’ उनले भनिन्।
बल्वा नगरपालिका र लोहारपट्टी नगरपालिकालक्षित गरी धमौरा स्वास्थ्य चौकी, रौजामा सञ्चालन गरिएको दुईदिने शिविरमा ३४ र १६ गरी ५० महिलाले बन्ध्याकरण गराएका छन्। तीमध्ये एक सेवाग्राहीले श्रीमानसँग बन्ध्याकरणको कुरा गर्दा उनी आफैँ राजी नभएको बताइन्।
‘सन्तान धेरै हुँदा पालनपोषणमै समस्या हुन थालेपछि आफैँ आएँ,’ ती महिलाले भनिन्, ‘सन्तान चाहिएको जति भइसकेको छ। दुःख अन्ततः महिलालाई नै हुने भएकाले श्रीमान् नआउँदा बाध्य भएर म नै अघि बढेँ।’
गत वर्ष सञ्चालन भएको शिविरमा सात सयजनाको लक्ष्य रहेकामा ५३४ जनाले बन्ध्याकरण गराएका थिए। तर, उक्त वर्ष पनि एकजना पुरुषले समेत बन्ध्याकरण गराएनन्। यस वर्ष भने महोत्तरीमा ८७४ जनाको लक्ष्यसहित शिविर सञ्चालन भइरहेको यादवले जानकारी दिइन्।
उनका अनुसार महोत्तरी मात्र होइन, मधेश प्रदेशका प्रायः सबै जिल्लामा पुरुष बन्ध्याकरण गर्ने संख्या शून्य नै रहेको छ।
महोत्तरीमा पुस १९ र २० गते रामगोपालपुर, पुस २२ गते सम्सी गाउँपालिका, पुस २४ र २५ गते सोनमा गाउँपालिका, पुस २७ र २८ गते पिपरा गाउँपालिका, पुस ३० गते मटिहानी नगरपालिका तथा माघ २ र ३ गते भंगहा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन हुने तालिका रहेको उनले बताइन्।
विशेषज्ञहरूका अनुसार अत्यधिक सन्तान जन्माउने, कम उमेरमै सन्तान जन्माउनेजस्ता कारणले महिलामा पाठेघर खस्ने (आङ खस्ने) जस्ता गम्भीर स्वास्थ्य समस्या देखिने गरेको छ। तर, स्थायी परिवार नियोजनको जिम्मेवारी अझै पनि महिलामाथि मात्र थोपारिने प्रवृत्ति कायमै रहेको छ।