वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले बीपी उद्यान निर्माणको कार्यलाई तीव्र रूपमा अघि बढाएको छ। वर्षौंदेखि अतिक्रमण गर्दै तरकारी, फलफूल तथा कपडा पसल सञ्चालन गर्दै आएका संरचनाहरू हटाएपछि महानगरले उद्यान निर्माणको प्रक्रिया सुरु गरेको हो।
हाल उद्यान क्षेत्रमा सफाइ तथा माटो पुर्ने काम तीव्र गतिमा भइरहेको छ। निर्माण कार्यको प्रगति बुझ्न महानगर प्रमुख स्वयं बुधबार स्थलगत निरीक्षणमा पुगेका थिए। निरीक्षणका क्रममा महानगर प्रमुखले सफाइ कार्यलाई तत्काल अगाडि बढाउँदै माटो पुर्ने काममा थप तीव्रता दिन सम्बन्धित कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
महानगर प्रमुखले यसै आर्थिक वर्षभित्र बीपी उद्यानलाई हरियालीयुक्त पार्कको रूपमा विकास गरिसक्ने लक्ष्य रहेको जानकारी पनि दिएका छन्। साथै, बीपी उद्यान नजिकै रेल्वे संग्रहालय निर्माण गर्ने तयारीसमेत महानगरपालिकाले गरिरहेको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार चालु आर्थिक वर्षमा माटो पुर्ने तथा वृक्षारोपण कार्यका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उद्यान निर्माणपछि उक्त क्षेत्र नगरवासीहरूका लागि मनोरञ्जन तथा विश्रामस्थलका रूपमा विकसित हुने अपेक्षा गरिएको छ।