वीरगन्ज । बारामा नेपाल प्रहरीका अधिकृतको साथबाट सरकारी पेस्तोल गायब भएको घटनाले मधेस प्रदेश प्रहरीमा तरङ्ग ल्याएको छ। प्रहरी नायब निरीक्षक (सई) ले बोकेको ९ एमएमको पेस्तोल रहस्यमय ढंगले हराएपछि घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय कबहीमा कार्यरत प्रहरी टोलीलाई नै प्रदेश प्रहरी कार्यालयमा तानिएको हो।
इलाका प्रहरी कार्यालय कबहीका प्रमुखसमेत रहेका सई सोनुकुमार मिश्रको साथबाट हतियार हराएको घटना बाहिरिएलगत्तै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले उक्त युनिटमा रहेका सईदेखि कार्यालय सहयोगीसम्मका १२ जना प्रहरीलाई तानेको हो। घटनाको छानबिन र सोधपुछका लागि उनीहरूलाई प्रदेश कार्यालयमा झिकाइएको र कबहीमा भने प्रहरीको अर्को टोली खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
घटना गत पुस ११ गतेको हो। सई मिश्रले बोकेको पेस्तोल हराएको जानकारी आएपछि प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले एसपी भेष रिजालको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेका थिए। पुस १५ मा गठन भएको उक्त समितिले घटनास्थलको प्रारम्भिक अध्ययन सकेर फर्किएलगत्तै थप अनुसन्धानका लागि त्यहाँ कार्यरत सबै प्रहरीलाई शुक्रबार जनकपुर झिकाएको हो।
प्रारम्भिक बयानका क्रममा सई मिश्रले राति गस्ती गर्ने क्रममा पेस्तोल हराएको बताएका छन्। तर, उनले ब्यारेकबाटै हतियार हराएको भन्ने अर्को बयान पनि दिएको र घटनाको विवरण अस्पष्ट रहेकोले स्थिति शंकास्पद देखिएको छानबिन समितिले जनाएको छ। समितिका संयोजक एसपी रिजालका अनुसार सबै प्रहरी कर्मचारीलाई अलग–अलग राखेर सोधपुछ र अनुसन्धान सुरु गरिएको छ।
एसपी रिजाल भन्छन्, ‘त्यस बखत इप्रकामा रहेका सबै प्रहरी कर्मचारीलाई शुक्रबार दिउँसो प्रदेश प्रहरी कार्यालयमा झिकाइएको छ । सँग बेग्लाबेग्लै अनुसन्धान सुरु गरिएको छ । दोषी देखिएका सबैलाई त्यहीअनुसार कानुनी कारबाही अगाडि बढाइन्छ ।’
यसैबिच, प्रहरी स्रोतले भने ड्युटीमा रहेका बेला तस्कर समूहले प्रहरीको हतियार खोसेर लगेको हुन सक्ने आशङ्का गरेको छ। सीमा क्षेत्रमा तस्करहरूको गतिविधि सक्रिय रहने भएकाले लुटपाटको कोणबाट पनि अनुसन्धान अघि बढाइएको छ, यद्यपि प्रदेश प्रहरीले यसलाई आधिकारिक रूपमा पुष्टि गरेको छैन।
सरकारी हतियार नै सुरक्षित नहुनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै प्रहरीले घटनामा जोसुकै दोषी देखिए पनि कडा विभागीय तथा कानुनी कारबाही गर्ने तयारी गरेको छ।