काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक अवस्था र आन्तरिक मतभेदका विषयमा पार्टीका शीर्ष तथा मध्यम तहका नेताहरूसँग छलफल गरेका छन्। विशालनगरस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित बैठकमा उनले आगामी आम निर्वाचन, पार्टी एकता र विशेष महाधिवेशनको प्रस्तावबारे नेताहरूको धारणा सुनेका हुन्।
बैठकमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो निर्णय, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको प्रस्ताव, तथा ती विषयमा पार्टीभित्र कसरी समन्वय गर्न सकिन्छ भन्नेबारे गहन छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
उनका अनुसार छलफलमा सहभागी नेताहरूले आगामी आम निर्वाचनलाई केन्द्रमा राख्दै कांग्रेसलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। विशेष महाधिवेशनका पक्षधर नेता देवराज चालिसेले सो विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।
बैठकको निष्कर्षस्वरूप डा. कोइरालाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गर्ने नेतृत्वकर्ता नेताहरूसँग थप परामर्श गरेर साझा धारणा तय गर्दै अघि बढ्ने निर्णय भएको सहमहामन्त्री परियारले बताए। “नेता शेखर कोइरालाले विशेष महाधिवेशनका हस्ताक्षरकर्ता नेताहरूसँग बसेर परामर्श गरी भावी रणनीति तय गर्ने सहमति भएको छ,” उनले भने।
डा. कोइरालाले बोलाएको बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसे, केन्द्रीय सदस्यहरू दीपक गिरी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, तेजुलाल चौधरीलगायतका नेताहरूको सहभागिता रहेको थियो।