वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले समाजमा अलपत्र, असहाय र बेसहारा नागरिकका लागि अनुकरणीय सेवा गर्दै आएको बताएका छन्। मानव सेवा आश्रम वीरगञ्ज शाखाको ८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आश्रमको सेवाले मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वको उच्च उदाहरण प्रस्तुत गरेको उल्लेख गरे।
मन्त्री पटेलले सडकमा आश्रयविहीन अवस्थामा रहेका बालबालिका, मानसिक तथा शारीरिक रूपमा असक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई संरक्षण, उपचार तथा पालनपोषण गर्दै आएको मानव सेवा आश्रमको भूमिका समाजका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए। “यस्ता संस्थाले गरिरहेको सेवा मानवताप्रति समर्पित कार्य हो, जसले समाजलाई सही दिशामा अघि बढ्न प्रेरणा दिन्छ,” उनले भने।
आश्रमले निरन्तर सेवा दिँदै आए पनि सरकारी तहबाट अपेक्षित सहयोग नपाएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पटेलले प्रदेश सरकारको तर्फबाट दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। विशेष गरी स्थायी भवन निर्माणका लागि प्रदेश सरकारबाट सहयोग जुटाउने प्रयास गरिने उनले जानकारी दिए।
उनले सामाजिक सेवा सरकारको मात्र दायित्व नभई सम्पूर्ण नागरिक, संघ–संस्था र निजी क्षेत्रको साझा जिम्मेवारी भएको उल्लेख गर्दै मानव सेवा आश्रमजस्ता संस्थालाई सहयोग गर्न सबैलाई आह्वान गरे।
कार्यक्रममा आश्रमका प्रतिनिधिहरूले हालसम्मको सेवा यात्राबारे जानकारी गराउँदै आगामी दिनमा सेवा विस्तारका योजना प्रस्तुत गरेका थिए।