सर्लाही । सर्लाहीस्थित सागरनाथ वन परियोजनामा कार्यरत एक चौकीदारको निर्मम हत्या भएको घटनाले क्षेत्रलाई स्तब्ध बनाएको छ। शनिबार साँझ परियोजनाका चौकीदार रामेश्वर महतो मृत अवस्थामा फेला परेका हुन्।
सर्लाही प्रहरीका प्रवक्ता सरोज राईका अनुसार महतोको शव टाउको छिनिएको अवस्थामा भेटिएको छ। घटनास्थलबाट बन्चरोसमेत बरामद गरिएको छ, जसका आधारमा हत्या अत्यन्तै क्रूर ढंगले गरिएको आशंका गरिएको छ।
घटना शंकास्पद र गम्भीर प्रकृतिको भएकाले प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार घटनाको तथ्य पत्ता लगाउन विशेष तालिमप्राप्त कुकुर (स्पेसल डग) समेत घटनास्थलमा परिचालन गरिएको छ।
मृतक रामेश्वर महतो सर्लाहीको ईश्वरपुर नगरपालिका–२ का स्थायी बासिन्दा रहेको प्रहरीले पुष्टि गरेको छ। हालसम्म हत्याको कारण र संलग्न व्यक्तिबारे खुल्न नसकेको र सबै कोणबाट अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।
वन क्षेत्रमा भएको यस किसिमको हिंसात्मक घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ भने स्थानीयवासी त्रसित बनेका छन्।