कलैया । बाराको कलैया उपमहानगरपालिका–४ मा पूर्व वडा अध्यक्ष मिश्रलाल सहनीका छोरा ओमप्रकाश सहनीमाथि अज्ञात समूहले चक्कु प्रहार गरेको छ। घटनामा ओमप्रकाश सहनी गम्भीर घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार शनिबार साँझ करिब ७ः३० बजेको समयमा कलैयामै अज्ञात व्यक्तिहरूले सहनीमाथि आक्रमण गरेका हुन्। आक्रमणकारीहरूले शरीरका विभिन्न भागमा अन्धाधुन्ध चक्कु प्रहार गरी उनलाई गम्भीर घाइते बनाएका बताइएको छ।
चक्कु प्रहारपछि आक्रमणकारी घटनास्थलमै प्रदेश ३–०२–०११ प ४७९१ नम्बरको मोटरसाइकल छाडेर फरार भएको पारिवारिक स्रोतले जनाएको छ।
घाइते सहनीको हाल प्रादेशिक अस्पताल, कलैयामा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको र फरार अभियुक्तको खोजी तथा घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।