अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेर अमेरिका लगेको छ । अमेरिकी विशेष बल (डेल्टा फोर्स)ले राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलियालाई काराकासको फोर्ट ट्युना सैन्य परिसरमा रहेको उनीहरूको घरबाट पक्राउ गरी अमेरिका पुर्याएको हो ।
मादुरोलाई बोकेको अमेरिकी विमान न्यूयोर्क शहरको स्टीवर्ट एयर नेशनल गार्ड बेसमा अवतरण भयो र मादुरोलाई विमानबाट बाहिर निकालिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा अमेरिकी अधिकारीहरूको टोलीले एक व्यक्तिलाई विमानबाट बाहिर निकालिरहेको देख्न सकिन्छ । हातमा हथकडी र आँखामा पट्टी बाँधिएका व्यक्ति मादुरो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच, मादुरोलाई अब न्यूयोर्कको अदालतमा आतंकवाद र लागूऔषध तस्करीको आरोपमा मुद्दा चलाइने बताइएको छ । अमेरिकाले मादुरोलाई अमेरिकामा कोकेन तस्करी गरेको र कार्टेल डे लस सोल्सको नेतृत्व गरेको आरोप लगाएको छ ।
शनिबार बिहान अमेरिकी सेनाले भेनेजुएलाविरुद्ध अपरेशन एब्सोल्युट रिजल्भ सुरु गर्यो र भेनेजुएलाको राजधानी काराकास र वरपरका क्षेत्रहरूमा १५० भन्दा बढी विमानहरूमार्फत हवाई हमला गरेको थियो ।
अमेरिकी सेनाले भेनेजुएलामा रहेका सैन्य अड्डा, हवाई अड्डा, बन्दरगाह र अन्य स्थानहरूलाई निशाना बनाएको थियो । सोही क्रममा अमेरिकी सेना भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीको घरमा प्रवेश गरी उनीहरुलाई पक्राउ गरेको थियो ।
भेनेजुएलामा अमेरिकी सैन्य कारबाही पूरा भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोको एउटा तस्वीर जारी गरे, जसमा मादुरो अमेरिकी सेनाको हिरासतमा रहेको र उनको हातमा हतकडी, आँखामा कालोपट्टी बाँधिएको थियो ।
ट्रम्पले भेनेजुएलामा नयाँ सरकार नबनेसम्म अमेरिकाले देश चलाउने र त्यहाँबाट पहिलेजस्तै तेलको आपूर्ति सुनिश्चित गर्ने घोषणा गरेका छन् ।