भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो समकालीन ल्याटिन अमेरिकी राजनीतिका सबैभन्दा विवादास्पद नेतामध्ये एक मानिन्छन् । दिवंगत राष्ट्रपति ह्युगो चाभेजका उत्तराधिकारीका रूपमा सन् २०१३ मा सत्तामा आएका मादुरो हालसम्म देशको नेतृत्वमा छन् ।
२३ नोभेम्बर १९६२ मा जन्मिएका मादुरोले राजनीतिक यात्रा मजदुर आन्दोलनबाट सुरु गरेका हुन् । बस चालकका रूपमा काम गरेका उनी ट्रेड युनियन राजनीतिमा सक्रिय हुँदै चाभेज नेतृत्वको ‘बोलिभेरियन क्रान्ति’सँग जोडिए । सन् २००६ देखि २०१३ सम्म परराष्ट्रमन्त्री रहेका मादुरो २०१२ मा उपराष्ट्रपति बनेका थिए ।
चाभेजको निधनपछि भएको निर्वाचनबाट राष्ट्रपति बनेपछि मादुरोले समाजवादी नीतिलाई निरन्तरता दिएका छन् । तर उनको शासनकालमा भेनेजुएला गहिरो आर्थिक संकटमा फस्यो । अत्यधिक मुद्रास्फीति, खाद्यान्न तथा औषधि अभाव, बेरोजगारी र ठूलो संख्यामा नागरिकको पलायन प्रमुख चुनौती बन्यो ।
अमेरिका र युरोपेली देशहरूले उनको शासनलाई अलोकतान्त्रिक भन्दै आलोचना गर्दै आएका छन् । केही अन्तर्राष्ट्रिय शक्तिले मादुरोको निर्वाचन वैधतामाथि प्रश्न उठाएका छन् भने मानवअधिकार उल्लङ्घनका आरोप समेत लगाउँदै आएको छ । यद्यपि, मादुरोका समर्थकहरू उनलाई अमेरिकी हस्तक्षेपविरुद्ध उभिने नेता र राष्ट्रिय स्वाधीनताको रक्षकका रूपमा चित्रित गर्छन् । रुस, चीन र क्युबासँगको नजिकको सम्बन्धले उनको विदेश नीति स्पष्ट देखिन्छ ।
राजनीतिक ध्रुवीकरणको केन्द्रमा रहेका मादुरोको नेतृत्व भेनेजुएलाको भविष्यसँग प्रत्यक्ष रूपमा गाँसिएको छ । तर शनिबार अमेरिकाले डेल्टा फोर्स प्रयोग गर्दै भेनेजुएलामाथि आक्रमण गरेको छ । साथै, राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरेर अमेरिका लगेसँगै भेनेजुएलाको भविष्य अब कता जान्छ भन्ने प्रश्न उठेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला सुरक्षित नभएसम्म अमेरिकाले अस्थायी रुपमा त्यहाँको शासन सञ्चालन गर्ने घोषणा गरेका छन् ।