भेनेजुएलामाथि आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोर्सलाई अपहरण गरी अमेरिका पुर्याएपछि, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार भेनेजुएलालाई अमेरिकाले चलाउने र त्यहाँको विशाल तेल भण्डार नियन्त्रणमा लिने बताए।
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार भेनेजुएलासँग ३ खर्ब ३ अर्ब ब्यारेल बराबरको कच्चा तेल छ। यो विश्वसँग भएको कुल तेल भण्डारको २० प्रतिशत हो। यो परिमाणको तेलले देशको भविष्यमा मुख्य भूमिका खेल्नेछ। सप्ताहन्तमा अन्तर्राष्ट्रिय तेल बजारमा कारोबार बन्द हुने भएकोले भेनेजुएलामाथि अमेरिकी आक्रमणको प्रभाव सोमबार बजार खुलेपछि मात्रै थाहा हुनेछ।

अमेरिकाका ठूला तेल कम्पनीहरूले भेनेजुएलाको बिग्रिएको पूर्वाधार र तेल संयन्त्र मर्मत गर्न अर्बौं डलर खर्च गर्ने शनिबार मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले बताएका छन्। अमेरिकाको नेतृत्वमा हुने यस पुनर्निर्माणले अन्ततः भेनेजुएलालाई तेलको धेरै ठूलो आपूर्तिकर्ता बनाउन सक्ने र पश्चिमी तेल कम्पनीहरूका लागि अवसरहरू सिर्जना गर्न सक्ने मानिएको छ।
यसले तेल उत्पादनको नयाँ स्रोतको रूपमा काम गर्न सक्ने अनुमान पनि गरिएको छ। यसले कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्कहरूको फराकिलो मूल्य अन्तरलाई नियन्त्रणमा राख्न सक्छ। तर, तेलको भाउमा आउने कमीले केही अमेरिकी कम्पनीहरूलाई तेल उत्पादन गर्नबाट निरुत्साहित भने गर्न सक्छ।
भेनेजुएलाको तेल उत्पादनलाई शीर्ष स्तरमा फर्काउन पूर्वाधार मर्मत सम्भारका लागि ५८ अर्ब डलर खर्च गर्नुपर्नेछ।
भोलिका दिनमा भेनेजुएली तेलमाथि अन्तर्राष्ट्रिय पहुँच पूर्ण रूपमा पुनर्स्थापित गर्न सकियो नै भने पनि भेनेजुएलाको तेल उत्पादन विश्व बजारमा ल्याउन वर्षौं लाग्न सक्छ। यसका लागि अविश्वसनीय खर्च लाग्नेछ।
भेनेजुएलाको सरकारी स्वामित्वमा रहेको तेल तथा प्राकृतिक ग्यास कम्पनी 'पीडीभीएसए'ले आफ्ना पाइपलाइनहरू मर्मत सम्भार नगरेकै ५० वर्ष भइसक्यो। भेनेजुएलाको तेल उत्पादनलाई शीर्ष स्तरमा फर्काउन पूर्वाधार मर्मत सम्भारका लागि ५८ अर्ब डलर खर्च गर्नुपर्नेछ। मादुरो सरकार र भेनेजुएलाका पूर्व राष्ट्रपति ह्युगो चाभेजले अन्ततः भेनेजुएलाको तेल उद्योगमा व्यापक लुटपाट गरेको 'प्राइस फ्यूचर्स ग्रुप'का वरिष्ठ बजार विश्लेषक फिल फ्लिन बताउँछन्।
- भेनेजुएलाको तेल भण्डारमा नियन्त्रण
भेनेजुएलासँग पृथ्वीमा सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार छ। यसको क्षमता वास्तविक उत्पादनभन्दा धेरै बढी छ। भेनेजुएलाले हरेक दिन लगभग १० लाख ब्यारेल मात्रै तेल उत्पादन गर्छ। यो भनेको विश्वव्यापी रूपमा उत्पादन हुने कच्चा तेलको लगभग ०.८ प्रतिशत मात्रै हो। यो २०१३ मा मादुरो भेनेजुएलाको राष्ट्रपति बन्नु अघिको तुलनामा त्यहाँ भइरहेको उत्पादनको आधाभन्दा कम हो भने, समाजवादी सरकारको हातमा सत्ता पुग्नु अघिको २५ लाख ब्यारेलको तुलनामा एक तिहाइभन्दा कम हो।
भेनेजुएला सरकारमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध र गहिरो आर्थिक संकटले देशको तेल उद्योगलाई पतन गरायो। लगानीको अभाव र मर्मतसम्भार नहुनुले पनि उत्पादन ह्वात्तै घटाएको मानिन्छ। भेनेजुएलाको ऊर्जा पूर्वाधार बिग्रँदै गइरहेको छ। हरेक वर्ष तेल उत्पादन गर्ने यसको क्षमता घट्दै गइरहेको छ। भेनेजुएलाले विश्वको तेल बजारलाई ठूलै असर गर्ने गरी तेल उत्पादन गर्दैन।

भेनेजुएलाको तेल भण्डारमा नियन्त्रण
विश्वभर तेलको अत्यधिक आपूर्ति हुने हो कि भन्ने डरका कारण यस वर्ष विश्व बजारमा कच्चा तेलको मूल्य नियन्त्रित रहेको छ। पेट्रोलियम निर्यातकर्ताहरूको समूह (ओपेक) ले पनि आफ्नो तेल उत्पादन बढाएको छ। कोरोना भाइरसको महामारीबाट उत्पन्न महँगीसँग जुधिरहेको विश्व अर्थतन्त्रमा तेलको माग सुस्ताएको छ।
ट्रम्प प्रशासनले भेनेजुएली जहाजबाट तेल जफत गर्न थालेपछि तेलको अमेरिकी बेञ्चमार्क केही समयका लागि बढेर प्रति ब्यारेल ६० डलरभन्दा माथि पुगेको थियो। तर, त्यसपछि यो घटेर फेरि ५७ डलर प्रति ब्यारेलमा झर्यो। त्यसैले पछिल्लो घटनाक्रमको असर तेल बजारमा मौन देखिने विश्लेषण गरिएको छ। मनोवैज्ञानिक रूपमा यस घटनाले कच्चा तेलको भाउलाई थोरै बढावा दिन सक्ने भए पनि भेनेजुएलाबाट आउने बराबरको तेल विश्वका ठूला तेल उत्पादकहरूले मिलेर उत्पादन गर्न सक्ने फ्लिन बताउँछन्।
भेनेजुएला जुन तेल भण्डारमाथि बसिरहेको छ, यसलाई निकाल्न विशेष खालको उपकरण र उच्च स्तरको प्राविधिक कौशल चाहिन्छ। अन्तर्राष्ट्रिय तेल कम्पनीहरूसँग यसलाई निकाल्ने र प्रशोधन गर्ने क्षमता छ। तर, भेनेजुएलासँग व्यापार गर्न तिनीहरूमाथि प्रतिबन्ध लगाइएको छ। विश्वको सबैभन्दा ठूलो तेल उत्पादक अमेरिकासँग हल्का र 'मिठो' (Sweet crude) कच्चा तेल छ, जुन पेट्रोल बनाउनका लागि मात्रै राम्रो छ। तर, भेनेजुएलाको जस्तो 'अमिलो' (Sour crude) कच्चा तेल प्रशोधन गरेर डिजेल, अलकत्रा अनि कारखाना र अन्य भारी उपकरणमा प्रयोग हुने इन्धन बनाउन सकिन्छ। भेनेजुएलाको तेलमा प्रतिबन्ध लगाइएकोले विश्वमा डिजेलको आपूर्ति अलि कसिलो बनेको छ।
अमेरिकाले सहज रूपमा भेनेजुएलाको तेल निकाल्न सक्यो भने यो अहिलेसम्मकै ‘कुशल’ सञ्चालन हुने फ्लिन बताउँछन्।
विश्व बजारमा भेनेजुएलाको तेल पुर्याउनु अमेरिकाका लागि विशेष गरी लाभदायक हुन सक्छ। भेनेजुएला अमेरिकाको नजिकै छ। भेनेजुएली तेल उसलाई अरूलाई भन्दा सस्तो पर्नेछ। धेरैजसो अमेरिकी रिफाइनरीहरू भेनेजुएलाको भारी तेल प्रशोधन गर्न सक्ने गरी निर्माण गरिएका छन्। अमेरिकी कच्चा तेलको तुलनामा भेनेजुएलाको तेल प्रयोग गर्दा उनीहरूलाई धेरै सजिलो हुने फ्लिन बताउँछन्।
अमेरिकाले सहज रूपमा भेनेजुएलाको तेल निकाल्न सक्यो भने यो अहिलेसम्मकै ‘कुशल’ सञ्चालन हुने फ्लिन बताउँछन्। अमेरिकी कम्पनीहरूलाई भेनेजुएलाको तेल उद्योगको पुनर्निर्माणको काम गर्न दिइयो भने यो विश्वव्यापी तेल बजारका लागि समेत ‘गेम–चेञ्जर’ हुन सक्ने दाबी फ्लिनले गरेका छन्। ट्रम्पले भेनेजुएलाको तेल उद्योगलाई ‘पूर्ण रूपमा ध्वस्त’ भनेका छन्। त्यहाँको उद्योगले निकाल्न सक्नेभन्दा निकै कम मात्रै तेल निकालिरहेको उनको भनाइ थियो। अमेरिकासँग भएका ठूला तेल कम्पनीहरू भेनेजुएलामा गएर अस्तव्यस्त भइसकेका त्यहाँका पूर्वाधार र तेल संरचना बनाउने र देशका लागि पैसा कमाउन थाल्ने ट्रम्पको भनाइ छ।

भेनेजुएलामा अमेरिकी हस्तक्षेपले कच्चा तेलको भाउमा कस्तो प्रभाव पार्नेछ भन्ने कुरा स्पष्ट छैन। "मूल्यमा प्रभाव सामान्य हुनेछ," वासिङ्टन डीसीमा रहेको परामर्श कम्पनी 'र्यापिडन इनर्जी ग्रुप'का अध्यक्ष बब म्याकनालीले सीएनएनलाई भनेका छन्। व्यापक सामाजिक अशान्तिको संकेत नदेखिँदासम्म र अवस्था अव्यवस्थित नहुँदासम्म कच्चा तेलको भाउ स्थिर देखिने बढी सम्भावना रहेको उनको भनाइ छ।
भेनेजुएला तेल बजारका लागि ठूलै घटक हुन सक्ने, तर अहिलेबाट अर्को ५–१० वर्षमा यस्तो नहुने पनि म्याकनालीले भनेका छन्। अन्तर्राष्ट्रिय तेल बजार आइतबार रातिदेखि मात्रै खुल्नेछ। ट्रम्पले भेनेजुएलाको तेल क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्छन् कि सक्दैनन् भन्नेमा मूल्य निर्भर रहने 'आरबीसी क्यापिटल मार्केट्स'मा विश्वव्यापी कमोडिटी रणनीति प्रमुख हेलिमा क्रफ्ट बताउँछिन्। अमेरिका भेनेजुएला बनाउने ‘मोड’मा रहेको ट्रम्पले संकेत गरेका छन्। यसका लागि आवश्यक लगानी अमेरिकाका ठूला तेल कम्पनीले गर्ने पनि उनले स्पष्ट पारिसकेका छन्। तर, यसका लागि विस्तृत विवरण चाहिने उनको भनाइ छ।