बीरगन्ज । पर्साको पोखरिया नगरपालिकामा बाल विवाह तथा दाईजो प्रथा नियन्त्रण सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय धर्म गुरु तथा सम्बन्धीत सरोेकारवालाहरुसँग भएको अन्तरक्रियामा बाल विवाह र दाईजो अपराध नियन्त्रणका लागि अपनाउने सकिने विषयहरुका बारे छलफल गरिएको थियो ।
घर देखि नै सुरु गरौं, महिला–हिंसा अन्त्य गरौं भन्ने मूल नाराका साथ दिव्य युवा क्लब पर्साको आयोजनामा कार्यक्रम सम्पन्न भएको जनाइएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एक्सनएड नेपालको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
क्लबका अध्यक्ष देवनाथ ठाकुरको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा नगरपालिकाका अधिकृत विनय कुमार झा, दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेल, पत्रकार प्रमोद यादवलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रौनियारले सामाजिक विकृतिका रुपमा रहेको बाल विवाह र दाईजो प्रथा उन्मुलनका लागि सबैको सहयोगको आवश्यक्ता खाँचो रहेको बताए । उनका अनुसार समुदायमा व्याप्त रहेको यी कुरितीहरुका विरुद्ध समुदाय एकाकार हुन आवश्यक छ ।