पर्सा । जिल्ला प्रशासन कार्यालय पर्सामा करिब पाँच घण्टा लामो समय चलेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गर्दै वीरगन्जको बिग्रँदो अवस्थालाई नियन्त्रणमा ल्याउने निर्णय गरेको हो। बैठकमा राजनीतिक दलका प्रतिनिधि, विभिन्न समुदायका अगुवा, नागरिक समाज तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकपछि आज दिउँसो ४ बजे वीरगन्जमा वृहत् सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। आपसी विश्वास, सहकार्य र निरन्तर संवादमार्फत धार्मिक तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले र्याली आयोजना गर्न लागिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बैठकले शान्ति सुव्यवस्था कायम गर्न सबै पक्षको साझा प्रतिबद्धता सुनिश्चित गरेको छ। उहाँका अनुसार अब वीरगन्जमा अन्य मुलुक वा अन्य स्थानमा भएका घटनालाई आधार बनाएर कुनै पनि समुदाय वा समूहले विरोध प्रदर्शन नगर्ने सहमति गरिएको छ।
सहमति अनुसार कुनै पक्षलाई असहमति वा गुनासो भएमा सिधै आन्दोलन वा प्रदर्शनमा नजाने, बरु प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ज्ञापनपत्र बुझाउने र प्रशासनसँग समन्वय गरेर मात्रै कुनै कार्यक्रम तय गर्ने निर्णय गरिएको छ। यसबाट भविष्यमा अनियन्त्रित गतिविधि रोक्ने विश्वास लिइएको छ।
बैठकले स्थायी धार्मिक तथा सामाजिक सद्भाव संयन्त्र गठन गर्ने निर्णयसमेत गरेको छ। सो संयन्त्रमार्फत विभिन्न समुदायबीच निरन्तर संवाद कायम राख्ने, विवाद समाधान गर्ने र आपसी विश्वास मजबुत बनाउने लक्ष्य लिइएको प्रशासनले जनाएको छ। यही संयन्त्रको पहलमा आज दिउँसो ४ बजे सद्भाव र्याली आयोजना गरिनेछ।
त्यसैगरी, धार्मिक तथा सामाजिक सद्भावमा असर नपर्ने गरी सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्ने र बैठकमा सहभागी सबै पक्षले आफ्ना–आफ्ना समुदायका सदस्यलाई संयमित र अनुशासित राख्न प्रतिबद्ध रहने सहमति भएको प्रशासनले जानकारी दिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार यस सहमतिसँगै वीरगन्जको अवस्था क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरिएको छ। सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्दै शान्ति कायम गर्न आवश्यक सबै उपाय अपनाइने पनि प्रशासनले जनाएको छ।
उल्लेखनीय छ, गत सोमबार हिन्दुवादी संगठनहरूले आफ्नो धर्मका देवी–देवतामाथि अभद्र टिप्पणी भएको आरोप लगाउँदै प्रदर्शन सुरु गरेपछि वीरगन्जको अवस्था तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि जिल्ला प्रशासनले सोमबार साँझ ६ बजेदेखि वीरगन्ज महानगरपालिकामा कर्फ्यु आदेश जारी गरेको थियो।
सुरुमा मंगलबार बिहान ८ बजेसम्मका लागि जारी कर्फ्यु आदेशलाई अवस्था हेरी दुई पटक थप गर्दै आज साँझ ६ बजेसम्म लागू गरिएको छ। प्रशासनले शान्ति र सुरक्षा कायम राख्न सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरेको छ।