पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेको क्षेत्रीय बैठक उम्मेदवार सिफारिसकै विषयलाई लिएर विवादमा तानिएको छ। पोखरिया नगरपालिकामा सम्पन्न क्षेत्रीय बैठकमा पार्टीको आन्तरिक प्रक्रिया र मापदण्ड विपरीत निर्णय थोपर्ने प्रयास भएपछि बैठक अव्यवस्थित बनेको हो।
बैठकमा अन्य राजनीतिक दलमा आबद्ध व्यक्तिको नाम एमालेको तर्फबाट उम्मेदवार सिफारिस गर्न खोजिएको भन्दै चर्को विरोध भएको थियो। क्षेत्रीय अध्यक्ष फरमान अन्सारीले पार्टीभित्र छलफल र सहमति नगरी बाहिरी व्यक्ति रुपेश पाण्डेको नाम एकलौटी रूपमा सिफारिस गर्न खोजेपछि बैठक तनावग्रस्त बनेको बताइएको छ।
अन्सारीको उक्त कदमप्रति उपस्थित नेता, अगुवा तथा कार्यकर्ताले कडा आपत्ति जनाउँदै विरोध गरेपछि बैठकमा हुहल्ला मच्चिएको थियो। विवाद चुलिँदै जाँदा बैठकको माइनुट तानातानको अवस्था सिर्जना भई बैठक स्थगित गर्नुपरेको थियो।
अवस्था नियन्त्रण बाहिर गएपछि क्षेत्रीय अध्यक्ष फरमान अन्सारीसहित जिल्ला इन्चार्ज प्रभु हजरा र जिल्ला अध्यक्ष विश्वम्भर शर्मा बैठकस्थल छाडेर बाहिरिएका थिए। उनीहरू बैठकबाट भागेको आरोपसमेत कार्यकर्ताहरूले लगाएका छन्।
घटनापछि बैठकमा उपस्थित नेता तथा कार्यकर्ताहरूले जिल्ला इन्चार्ज प्रभु हजरा र जिल्ला अध्यक्ष विश्वम्भर शर्माविरुद्ध नाराबाजी गरेका थिए। पार्टीभित्र लामो समयदेखि मेहनत गरिरहेका कार्यकर्तालाई बेवास्ता गर्दै बाहिरी व्यक्तिलाई अगाडि सार्न खोजिएको भन्दै उनीहरूले नेतृत्वको कडा आलोचना गरेका छन्।
यस घटनाले पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमालेको संगठनात्मक अवस्था कमजोर बन्दै गएको र आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको स्पष्ट संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।