वीरगञ्ज । पर्सा जिल्लाको पोखरीया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा संदेश यादव हाजिर भएका छन् । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहेका यादवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप जिम्मेवारीका लागि नगरपालिकामा पठाएपछि उनी हाजिर भएका हुन् । पोखरीया नगरपालिकाको कार्यालय पोखरीयामा मंगलबार हाजिर हुन गएका यादवलाई भव्य रूपमा स्वागत गरिएको थियो । नगरपालिकाका जनप्रतिनिधीहरु र कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत यादवलाई गम्छा , फूलको माला र अबिरको टीका लगाएर भव्य स्वागत गरेका थिए । उक्त कार्यक्रममा बोल्दै अधिकृत यादवले आफूले जन चाहना अनुसार जनप्रतिनिधिको समन्वयमा काम गर्ने बताए । उनले भने मैले जनप्रतिनिधिको समन्वय र सहकार्यमा जन चाहना अनुसार काम गर्ने छु , त्यसको लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्व्य जरुरी छ । पोखरीया नगरपालिकामा यस भन्दा अगाडि प्रमुख प्रशासकिय अधिकृत अशोक कोइरालाले कार्यालय प्रमुखको जिम्मेवारीमा काम गर्दै आएका थिए । मंगलबार हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत यादवले साेही दिनदेखी कार्यभार समेत सम्मालेका छन् ।