जनकपुर । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर मधेस प्रदेशको राजनीतिक माहोल तातेको छ । सर्वसाधारण शीतलहरले आक्रान्त बनिरहेको बेला कांग्रेस कार्यकर्तामा भने राजनीतिक सरगर्मी बढेको छ ।
संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबिचको तानातानले महाधिवेशन प्रतिनिधिलाई दबाब पनि बढिरहेको छ । संस्थापन र शेखर पक्षले आ-आफ्ना पक्षका कार्यकर्ताहरूलाई विशेष महाधिवेशन सहभागी नहुने खुलेरै दबाब दिइरहेका छन् भने महामन्त्रीद्वय गगन–विश्वप्रकाश पक्षले महाधिवेशन प्रतिनिधिलाई काठमाडौं लैजान रणनीतिक संघर्ष गरिरहेका छन् ।
मधेका आठ जिल्ला आफ्नो पक्षमा महाधिवेशन प्रतिनिधिहरूको बहुमत जुटाउन दुवै पक्ष लागिपरेका छन् । देउवा-शेखर पक्षले मधेसबाट सहभागी हुनेहरूको संख्या घटाउने रणनीति बनाइरहेका छन् भने गगन-विश्वप्रकाश पक्ष बहुमत प्रतिनिधिलाई सहभागी गराउने कोसिस गरिरहेका छन् ।
यद्यपि विशेष महाधिवेशनको पक्षमा मधेस प्रदेशबाट सबैभन्द धेरै प्रतिनिधिहरूले हस्ताक्षर गरेको भएपनि अहिले कटौती आएको बताइन्छ । कांग्रेस संस्थापन पक्षका आरजु राणा, भानु देउवा तथा शेखर कोइरालाले फोन गरेर मधेसबाट विशेष महाधिवेशनमा सरिक नहुन दबाब बढाइरहेको बताइन्छ । संस्थापन पक्षले अहिले आग्रहलाई अस्वीकार गरे निर्वाचनमा टिकट नदिने धम्की समेत दिइरहेको निकट स्रोतले जनाएको छ ।
प्रतिनिधि रोक्न खटाइए केन्द्रीय नेता
महाधिवेशनको समय घर्किँदै जाँदा संस्थापन पक्षका नेताले सिधै फोन गर्ने मात्रै होइन, केन्द्रीय नेताहरूलाई समेत मधेसका जिल्ला-जिल्लामा पठाएको छ । विमलेन्द्र निधि, आनन्द ढुंगानासहितका नेताहरू महाधिवेशन प्रतिनिधिलाई रोक्नकै लागि मधेस झरेका छन् ।
काठमाडौंबाट मधेस झरेका देउवा-शेखर पक्षका केन्द्रीय सदस्यहरुले बिहीबारदेखि हरेक जिल्लामा फोन गरेर, प्रतिनिधिसँग भेटेर कुनैपनि हालतमा आइतबार हुने महाधिवेशनमा जान नदिन दबाब दिइरहेका छन् ।
जनकपुरका कांग्रेस नेता जीवनाथ चौधरी भन्छन्, ‘अहिले मधेसबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय नेताहरू मधेस झर्नुभएको छ । उहाँहरूले विशेष महाधिवेशनमा सहभागी नहुन दबाब दिइरहनुभएको छ । यसका साथै केन्द्रबाट पनि शीर्षस्थ नेताहरुबाट फोन गरेर महाधिवेशनमा सहभागी नहुन दबाब आइरहेको छ ।‘
कुन जिल्लामा कस्तो अवस्था ?
पर्सा जिल्लाबाट पूर्व सांसद समेत रहेका सुरेन्द्र चौधरी विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । बाराबाट पूर्वमन्त्री फर्मुल्लाह मन्सुरसहित चन्द्रशेखर यादव, विजयशंकर यादवसहितका नेताहरु खुलेका छन् । रौतहटमा मधेसका मुख्यमन्त्री कृष्णा यादवदेखि लिएर केन्द्रबाट संस्थापनका शीर्ष नेताको दबाबका कारण विशेष महाधिवेशनमा जाने प्रतिनिधिहरूको संख्या घट्ने अनुमान गरिएको छ ।
सर्लाहीमा भने गगन पक्षमा बढी प्रतिनिधि खुलेका छन् । निवर्तमान सभापति सुरेन्द्र सिंह, मधेस प्रदेशका उपसभापति वीरेन्द्र सिंह आफैं गगनको पक्षमा लबिङ गरिरहेको हुनाले सर्लाहीबाट बढी संख्यामा प्रतिनिधि सहभागी हुने आँकलन छ । सिंह दाजुभाइको बलियो पकड रहेको मानिएको सर्लाहीमा बहुमत प्रतिनिधि सहभागी हुनसक्ने अनुमान छ ।
महोत्तरीमा पनि गगन-विश्वप्रकाश पक्षमा बढी प्रतिनिधि खुलेका छन् । निवर्तमान सांसद महिन्द्र रायसहित बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद क्षेत्री तथा सुशील यादवसहित अन्य प्रभावशाली नेता विशेष महाधिवेशनको पक्षमा माहोल बनाइरहेका छन् ।
धनुषामा भने गगन-विश्वप्रकाशको पक्षमा कम महाधिवेशन प्रतिनिधि खुलेका छन् । देउवा-शेखर पक्षको यहाँ सक्रियता बढेपछि प्रतिनिधिको संख्या घटेको छ । मोक्ता यादव विशेष महाधिवेशनको पक्षमा खुलेको बताइन्छ । जनकपुरका कांग्रेस नेता जीवनाथ चौधरी धनुषाबाट २० प्रतिशतको हाराहारीमा मात्रै प्रतिनिधि सहभागी हुने दाबी गर्छन् ।
महाधिवेशन प्रतिनिधि समेत रहेका चौधरी सुरुमा आफैं विशेष महाधिवेशनको पक्षमा वकालत गरिरहेका थिए, तर अहिले शीर्ष नेताको दबाबले आफू ब्याक भएको उनको भनाइ छ ।
सिरहामा कांग्रेसकी पूर्वकेन्द्रीय कोषाध्यक्ष सीता यादव विशेष महाधिवेशनको पक्षमा खुलेकी छन् । सिरहाबाट राम्रै संख्यामा प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ । सप्तरीमा जिल्ला सभापति रामदेव साहसहितका नेताहरु विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
कुन-कुन जिल्लामा गगन-विश्वप्रकाश बलिया ?
देउवा र शेखर पक्षको पकड रहेको भनिएका मधेसका जिल्लामा गगन-विश्वप्रकाश पक्षको प्रभाव बढ्दै गएको देखिन्छ । नेतृत्वप्रतिको आक्रोशका कारण विशेष महाधिवेशनको पक्षमा आवाज उठाउनेहरु बढिरहेको कांग्रेस स्रोत बताउँछ ।
८ जिल्लामध्ये सर्लाही र महोत्तरीमा गगन-विश्वप्रकाश पक्षको पकड बढी देखिन्छ । यस्तै बारामा पनि उनीहरूको प्रभाव बढी देखिएको छ ।
संस्थापन र शेखर पक्षले २० प्रतिशत हाराहारीमा मात्रै प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी हुने दाबी गरिरहेको छ भने गगन-विश्वप्रकाश पक्ष ५५ प्रतिशत हाराहारीमा प्रतिनिधिहरू सहभागी हुने दाबी गर्छ ।
सम्भार : रातो पाटि