वीरगन्ज । वीरगन्जस्थित रोयल पार्टी प्यालेसमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौं व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विभिन्न गाउँबाट नेकपा एमाले, नेपाली कांग्रेस, जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा अन्य दल परित्याग गरी जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, राजनीतिक नेता तथा युवाहरू रास्वपामा प्रवेश गरेका हुन्।
कार्यक्रममा जसपा नेपालबाट निर्वाचित कालिकामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लालबाबु चौरसिया, पूर्व गाविस अध्यक्ष नेजामुदिन मियाँ, पूर्व वडाध्यक्ष महादेव चौरसिया, नेपाली कांग्रेसका प्रसाद शिवशंकर चौरसिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका ललन ठाकुर, सुशासन पार्टीका लक्ष्मण महतो लगायतका नेताहरू निःशर्त रूपमा रास्वपामा प्रवेश गरेका छन्।
यसैगरी कालिकामाई गाउँपालिका वडा नं. २ र ५ बाट नेकपा एमाले, नेपाली कांग्रेस तथा जसपा नेपालका दर्जनौं नेता–कार्यकर्ता र युवाहरू पनि रास्वपामा आवद्ध भएका छन्।
नवप्रवेशीहरूलाई रास्वपाका केन्द्रीय सदस्य नन्दन यादव, जिल्ला सभापति हरि पन्त, क्षेत्रीय सभापति जितेन्द्र मिश्र, जिल्ला उपसभापति तुल्सा पौडेल, नेता टेकबहादुर शाक्यलगायतले अबिर तथा टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति हरि पन्तले पार्टी प्रवेश कार्यक्रमले पर्सा क्षेत्र नं. ४ मा रास्वपा थप सशक्त बनेको बताए। उनले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरे।
क्षेत्रीय सभापति जितेन्द्र मिश्रले पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य रहेको जानकारी गराउँदै आगामी निर्वाचनमा भारी मतका साथ विजयी गराउने विश्वास व्यक्त गरे।
रास्वपा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए।