पर्सा । नेपाल रेडक्रस सोसाइटी, पोखरिया उपशाखाको ३६ औं वार्षिक साधारण सभा पोखरिया नगरपालिकास्थित जिल्ला उच्च माध्यमिक विद्यालय रामदेव कलवारको सभाहलमा सम्पन्न भएको छ।
सभामा उपशाखाको सचिव हिमानचल साहले २०८१/०८२ को वास्तविक आय–व्यय १० लाख ९१ हजार २ सय २३ रुपैयाँ र २०८२/०८३ को अनुमानित आय–व्यय ११ लाख ३८ हजार ८५ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो।
सभाका प्रमुख अतिथि, पोखरिया नगरपालिकाका नगरप्रमुख प्रधुमन चौहानले नेपाल रेडक्रस सोसाइटी पवित्र संस्था भएको उल्लेख गर्दै उपशाखाका विभिन्न गतिविधि जस्तै रक्तदान, सरसफाइ कार्यक्रम र अन्य सामाजिक कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले रेडक्रस उपशाखाका लागि भवन निर्माणका लागि पाँच धुर जग्गा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभयो।
नेपाल रेडक्रस सोसाइटी, पर्साका मन्त्री बिनोद गिरीले संबोधन गर्दै आफुलाई विद्यालय जीवनदेखि हालसम्म रेडक्रसमा योगदान दिने अवसर मिलेको स्मरण गर्दै आगामी दिनमा पनि माया र सहयोग जारी रहने बताउनुभयो।
पोखरियाका वडा अध्यक्ष लक्ष्मण साह कानुले उपशाखाको उन्नतिको कामना गर्दै रेडक्रसलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो।
कार्यक्रम पोखरिया रेडक्रस सोसाइटी उपशाखाका सभापति भगवान प्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडाअध्यक्ष लक्ष्मण साह, प्रमोद गिरी, डाक्टर वकिल मियाँ, प्रदेशिक अस्पताल पोखरियाका अध्यक्ष उमेश चौहान, पनालाल प्रसाद कुर्मी लगायतले साधारण सभाको प्रगतिप्रति शुभकामना व्यक्त गर्नुभएको थियो।
सभामा उपशाखाका कार्यसमिति सदस्य, आजीवन सदस्य, साधारण सदस्य, सल्लाहकार सदस्य, सुरक्षा निकायका प्रतिनिधि र पत्रकारहरूको समेत उपस्थिति रहेको थियो।