पर्सा । ग्रामीण भेगका पशुपालन कृषकलाई लक्षित गर्दै निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। “स्वस्थ पशु, खुसी कृषक” भन्ने नारासहित एसोसिएसन अफ भेटेरिनरी प्र्याक्टिसनर पर्सा (AVP Parsa) को आयोजनामा शिविर सञ्चालन गरिएको हो।
संस्थाका अध्यक्ष छत्रबहादुर शाह कानुको अध्यक्षतामा सम्पन्न उक्त शिविरमा गाईभैंसी ९४ वटा, खसी–बाख्रा तथा पाठापाठी ५७६ वटा र कुकुर ७ वटा गरी जम्मा ६७७ वटा पशुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
स्वास्थ्य परीक्षणपछि आवश्यक परेका पशुहरूलाई नामले जुकाको औषधि, मिनरल, क्याल्सियम, पेट झरी रोक्ने औषधि तथा मलहम निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।
शिविरमा एभिपी पर्साका उपाध्यक्ष विजय पटेल, सचिव शिवशंकर ठाकुर तथा सदस्यहरू पनालाल शाह र दिपु शाहको उपस्थिति रहेको थियो। कार्यक्रम ठोरी गाउँपालिका वडा नं. ५ अन्तर्गत बागमोर्चा टोलमा आयोजना गरिएको हो।
शिविरमा ठोरी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अष्ट लोपचानसहित स्थानीय पशुपालक कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एभिपी पर्साका अध्यक्ष छत्रबहादुर शाह कानुले पशुपालनसम्बन्धी आधारभूत जानकारी दिँदै कृषकहरूलाई व्यवस्थित र वैज्ञानिक पशुपालनतर्फ अग्रसर हुन आग्रह गरे। उनले संस्थाले आगामी दिनमा पनि कृषकलाई प्रत्यक्ष लाभ पुग्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै पशुपालक कृषकका लागि एभिपी पर्सा चौबिसै घण्टा सहयोगका लागि तत्पर रहने बताए।