पर्सा । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार सिफारिस प्रक्रियामा देखिएको अनियमितता र मनपरी निर्णयले पार्टी नेतृत्वको जिम्मेवारी र नैतिकतामाथि गम्भीर प्रश्न उठाएको छ। क्षेत्रीय अध्यक्ष फरमान अन्सारी, जिल्ला अध्यक्ष विश्वम्भर शर्मा र जिल्ला संयोजक प्रभु हजराले पार्टीको विधि, विधान र आन्तरिक लोकतन्त्रलाई बेवास्ता गर्दै गरेको निर्णय अन्ततः मधेस प्रदेश कमिटीले सच्याएपछि उनीहरूको गलत नियत उजागर भएको छ।
पार्टी सदस्यसमेत नरहेको तथा अन्य राजनीतिक दलसँग आबद्ध रहेको भनिएका रुपेश पाण्डेको नाम जबरजस्ती सिफारिस सूचीमा समावेश गर्नु, त्यसलाई छलफल र सहमति बिना जिल्ला तथा प्रदेशसम्म पठाउनु नेतृत्वको गम्भीर लापरबाही र गैरजिम्मेवारपनको उदाहरण भएको कार्यकर्ताहरूको आरोप छ। क्षेत्रीय बैठकमा अधिकांश नेता, कार्यकर्ता र जनप्रतिनिधिबाट अस्वीकृत नामलाई ‘चोरी ढंगले’ अघि बढाउनुले नेतृत्वको नियतप्रति गहिरो अविश्वास पैदा भएको उनीहरूको भनाइ छ।
विवाद चर्किँदा बैठक नै बहिष्कार गरी बाहिरिनु, कार्यकर्ताको प्रश्न र विरोधको सामना नगर्नु तथा जिम्मेवारीबाट पन्छिनुले अन्सारी, शर्मा र हजराको नेतृत्व क्षमतामाथि थप शंका उब्जाएको छ। पार्टीका लागि वर्षौं योगदान दिएका कार्यकर्ताको भावना कुल्चँदै बाहिरी व्यक्तिलाई अघि सार्ने प्रयासले संगठन कमजोर पार्ने काम भएको विश्लेषकहरूको टिप्पणी छ।
अन्ततः नेकपा एमाले मधेस प्रदेश कमिटीले उनीहरूले गरेको गलत निर्णय सच्याउँदै पार्टीमा आबद्ध नभएका पाण्डेको नाम हटाई केन्द्रमा सिफारिस पठाएपछि क्षेत्रीय र जिल्ला नेतृत्वको असफलता स्पष्ट भएको छ। प्रदेश कमिटीको हस्तक्षेपले मात्रै अवस्था सुधारिनु परेपछि पर्सा–३ मा स्थानीय नेतृत्वको विश्वसनीयता गम्भीर रूपमा खस्किएको कार्यकर्ताहरू बताउँछन्।
कार्यकर्ताहरूका अनुसार यदि यस्ता मनपरी, मिलेमतो र नियमविपरीतका निर्णयहरूमाथि पार्टीले कडा कदम नचाले संगठनमा थप क्षति पुग्ने निश्चित छ। उनीहरूले आन्तरिक लोकतन्त्रको रक्षा, विधि र मापदण्डको पालना तथा जिम्मेवार नेतृत्वको माग गर्दै दोषीमाथि स्पष्ट कारबाहीको मागसमेत गरेका छन्।