बारा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक पर्ने ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी)का लागि आवेदन दिनेको भिड लागेको छ । बारामा सोमबारसम्म करिब ४ हजार जनाले ‘निर्वाचन प्रहरी’का लागि आवेदन दिएका छन् ।
निर्वाचन प्रहरीका लागि नेपाल प्रहरीले शुक्रबारदेखि आवेदन खुला गरेको हो । नियमिततर्फका सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत ४० दिनको अवधि तोकेर ‘निर्वाचन प्रहरी’को छनोट प्रकिया सुरु गरेको हो । .
बारामा सोमबारसम्म ३ हजार ८४७ जनाले आवेदन दिइसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । निर्वाचनका लागि बारामा ४ हजार ३४ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ ।
कोल्हवी नगरपालिका वडा नं ६ की ५० वर्षीय रामकुमारी चौधरी पनि निर्वाचन प्रहरी बन्न इच्छुक देखिएकी छन् । छोरालाई पढाउनका लागि खर्च जुटाउने उद्देश्यले आफू निर्वाचन प्रहरी बन्न इच्छुक रहेको उनको भनाइ छ । ४० दिन चुनावमा खटेर पाउने पैसाले घरखर्च चलाउन ठुलो सहयोग पुग्ने उनको भनाइ छ ।
बारागढी गाउँपालिका वडा नं ४ की तेतरी पासवानले बेरोजगारीका कारण निर्वाचन प्रहरीमा आवेदन दिएको बताइन् । उनले आइतबार फारम भरेर सोमबार प्रवेशपत्र लिएकी छन् ।
‘खै कति दिन काम गर्नुपर्छ थाहा छैन । बेरोजगारी छ, के गर्ने ? गरिबले जे काम पाउँछ, त्यही गर्ने त हो,’ उनले भनिन्, ‘यसैबाट पाउने पैसाले बच्चाहरूलाई पढाउन र घर खर्च चलाउन सहयोग मिल्छ ।’
जिल्ला प्रहरी कार्यालय बारामा निर्वाचन प्रहरीका लागि फारम भर्न युवायुवतीदेखि ५० वर्ष उमेर नाघेका महिलाहरूको समेत भिड देखिएको थियो ।
१८ वर्ष उमेर पूरा भएर ५४ वर्ष ननाघेका महिला÷पुरुषले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्ने प्रावधान छ । माघ १ गतेसम्म आवेदन दिने समयसीमा तोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बारा जिल्लामा ४ हजार ३४ जना निर्वाचन प्रहरी आवश्यक भएको बताए ।
‘आवेदन जिल्ला प्रहरी कार्यालयमै दर्ता गर्नेगरी छनोट समितिले काम गरिरहेको छ,’ उनले भने, ‘निर्वाचनमा ४० दिन खट्नुपर्छ । उहाँहरूले प्रहरी जवानले सरह सेवा–सुविधा पाउनुहुन्छ ।’
निर्वाचन प्रहरीको मुख्य काम निर्वाचनमा नियमित गस्ती, कार्यालय सुरक्षा, विशिष्ट व्यक्तिको सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धान लगायतमा नियमित रूपमा खटिनुपर्छ भने निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन अन्तर्गत उम्मेदवारका सुरक्षादेखि प्रचारप्रसार, आमसभा लगायतमा पनि सुरक्षा दिनुपर्ने हुन्छ ।
४० दिन निर्वाचनमा भर्ना भएर खटिने निर्वाचन प्रहरीलाई प्रहरी÷सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलवमान र लत्ताकपडा तथा जवान सरहको रासनभत्ता दिइने व्यवस्था ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ मा उल्लेख छ । जसअनुसार एक जना निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट निर्धारण समितिले तोके अनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रतिव्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ र पोसाक भत्ता पाउनेछन् ।
निर्वाचन प्रहरीले पाउने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाउने व्यवस्था छ । निर्वाचनमा खटिने यो जनशक्ति कर्तव्य पालनाका क्रममा घाइते भएमा वा मृत्यु भएमा सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम नजिकको हकवालालाई उपलब्ध गराउनेछ ।