सप्तरी । गृहमन्त्री ओमप्रकाश आर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माहोल बनिसकेको बताउनुभएको छ । उहाँले निर्वाचनसम्बन्धी सबै तयारी अगाडि बढिसकेको र राजनीतिक दलहरू पनि निर्वाचनको गतिविधिमा लागिसकेकाले निर्वाचन एकै चरणमा निर्बाध रूपमा सम्पन्न हुने बताउनुभयो ।
बुधबार हुने मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन आउनुभएका गृहमन्त्री अर्याल मङ्गलबार जनकपुर हुँदै सप्तरी पुग्नुभएको हो । उहाँले सबै राजनीतिक दल, निर्वाचन आयोग र जेनजीलगायत सबै सरोकारवालासँगको सहकार्यमा निर्वाचन सम्पन्न गराउन सरकारले काम गरिरहेको जानकारी गराउनुभएको हो । उहाँले भन्नुभयो, “निर्वाचनको माहोल राम्रो छ । फागुन २१ मा एकै चरणमा निर्वाचन हुन्छ ।”
जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसँग जिल्लाको सुरक्षासहित समग्र अवस्थाबारे जानकारी लिनुभयो ।
उहाँले निर्वाचनको माहोललाई अझै सृदृढ बनाउन सबै सरोकारवालाले प्रयास गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । उहाँले सञ्चार माध्यमले पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसअघि उहाँले राजविराजस्थित छिन्नमस्ता देवीको दर्शन पूजा गरेर स्थानीय जनप्रतिनिधिसँग भेटघाट गर्नुभएको थियो । गृहमन्त्री अर्यालसँगै गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख एवं प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायतको टोली छिन्नमस्ता मन्दिर दर्शनका लागि पुग्नुभएको थियो । मङ्गलबार नै गृहमन्त्री अर्यालसहितको टोलीले राजविराज नगरपालिका–८ स्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्रमा आन्तरिक भेटघाट तथा छलफल गरेको छ ।
बुधबार जनकपुरधाममा आयोजना हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मधेश प्रदेशका आठ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहने बताइएको छ । मधेश प्रदेशको आठ वटै जिल्लाको शान्ति सुरक्षा, सीमा क्षेत्रमा अपनाउनुपर्ने सुरक्षा सतर्कता र आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गरी अपनाइनुपर्ने सुरक्षा रणनीतिबारे विस्तृत रूपमा छलफल हुने गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत राधेशङ्कर पालले जानकारी दिनुभयो । प्रदेशमा प्रत्येक वर्ष प्रदेश सुरक्षा गोष्ठी आयोजना गर्ने गरिएको छ ।